बीआरआईमा अड्कियो नेपाल र चीनको संयुक्त वक्तव्य

काठमाडौं । साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा भेटवार्ता भएको छ ।

एक दर्जन सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । तर दुई पक्षबीच चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लगायत विषयमा सहमति जुट्न नसक्दा संयुक्त वक्तव्य जारी हुनसकेको छैन ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाटै चीन गएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी जिनपिङसँग एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा शनिबार भेटवार्ता भएको थियो । सोमबार बेइजिङस्थित ग्रेट अल हफ दि पिपुलमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भयो ।

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङसँग भएको भेटमा समग्र एजेन्डामा छलफल भएको थियो । चीनले अघि सारेको बीआरआई लगायत केही महत्वपूर्ण एजेन्डामा नेपाल पक्षले सहमति नजनाउँदा संयुक्त वक्तव्य आएको छैन ।

सोमबार सम्झौता तथा समझदारी पत्रहरुमा हस्ताक्षरका लागि औपचारिक छलफल सुरु हुनुअघिसम्म पनि संयुक्त वक्तव्य निकाल्ने विषयमा के हुन्छ भन्ने टुंगो लागिसकेको थिएन । हस्ताक्षर समारोह सम्पन्न भइसकेपछि पनि नेपालका तर्फबाट संयुक्त वक्तव्य जारी गर्ने विषयमा चिनियाँ पक्षसँग छलफल भएको थियो ।

संयुक्त वक्तव्यको टुंगो नभएपछि दुवै देशका परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गर्ने सहमति भएको थियो ।

सोही अनुरुप बेइजिङस्थित नेपाली राजदूतावासले प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका एक दर्जन सम्झौता र समझदारीलाई उल्लेख गरेर विज्ञप्ति जारी गरिसकेको छ । चिनियाँ विदेश मन्त्रालयले भने अहिलेसम्म कुनै धारणा सार्वजनिक गरिसकेको छैन ।

स्रोतका अनुसार बेइजिङले प्रधानमन्त्री प्रचण्डको भ्रमण सम्पन्न हुने मितिसम्म आफ्ना प्रस्तावमा सकारात्मक छलफल हुनसकेको खण्डमा संयुक्त विज्ञप्ति जारी गर्ने प्रतिक्रिया दिइरहेको छ ।

तर प्रधानमन्त्री प्रचण्डले चीनले संयुक्त वक्तव्यमा समावेश गर्न चाहेका विषयमा सहमत भइसकेका छैनन् ।

सम्बन्धित समाचार

ताजा समाचार