काठमाडौं । काठमाडौंका शक्तिशालीहरुको कोठाचोटामा सधैंजसो सुन्न पाइन्थ्यो भारत खुलेआम हस्तक्षेप गर्छ, चीनचाहिँ चुपचाप नरम कूटनीति गर्छ । पछिल्ला वर्षहरुमा ठिक यसको उल्टो परिदृश्य देखिन्छ ।
शनिबारकै घटना हेर्यौं भने पनि एकसरो झलक मिल्छ, जहाँनेर चिनियाँ राजदूत नेपालीलाई अर्को छिमेकी भारतसँग कसरी चल्ने भनेर अर्तीबुद्धि दिँदै थिए । चीनका राजदूत छेन सङले राजधानीमा आयोजित कार्यक्रममा नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौताको प्रतिकूल हुने गरी लामै बोले ।
उनले त्यहाँ बोले
‘मैले काठमान्डु पोस्टमा केही दिनअघि मात्रै पढेँ । नेपालका हरेक राजनीतिज्ञ, नेता, व्यवसायी र आम जनता चीनमा भन्दा बढी बिजुली भारत निर्यात गर्ने कुरा गरिरहेका छन् । त्यसपछि हामी स्वतन्त्र अर्थतन्त्र बन्नेछौं भनेर भन्छन् । वास्तविकता के हो रु म यहाँ राख्न चाहन्छु । नेपालले गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँको बिजुली भारत निर्यात गरेको थियो । भारतबाट कति आयात गर्यो रु तपाईंले भारतबाट १९ अर्ब नेपाली रुपैयाँको बिजुली आयात गर्नुभयो । तपाईले बिजुली व्यापारमा घाटा गर्नुभयो । बिजुली तपाईले गर्व गर्ने उत्पादनहरु मध्ये एक हो । तपाईहरू सोच्नुहुन्छ कि यसले मुलुकमा आर्थिक स्वतन्त्रता ल्याउनेछ ।’
भारतसँग कस्तो व्यापार अपनाउने, कस्तो कुटनीति गर्ने भन्ने मामिला काठमाडौंको आन्तरिक हो भन्ने बिर्सेर राजदूत छेनले अनेकौ अनर्थ बोले, जसबारे राजनीतिक तहबाट अहिलेसम्म खासै प्रतिवाद नहुनु अनौठो छ ।
यी पंक्ति लेख्दैगर्दा संखुवासभामा रहेका परराष्ट्र मन्त्री एनपी साउद चिनियाँ दूतको टिप्पणीबारे टेलिफोनमा कुरा गर्न तयार भएनन् । ‘संवेदनशील विषयमा फोनमा बोल्नु उचित नहुने’ उनको छोटो प्रतिक्रिया थियो । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारी भने चिनियाँ राजदूतलाई सरकारले औपचारिक रुपमा सोध्नुपर्ने बताउँछन् ।
‘मन्त्रीज्यूसँग यसबारे कुरा गर्न पाएको छैन, सम्भवतः राजनीतिक स्तरबाट नै योबारे प्रतिक्रिया आउला,’ ती अधिकारीले भने, ‘तर राजदूतले पदीय मर्यादा र ओहदा बिर्सेर गैरकुटनीतिक टिप्पणी गरेको प्रष्टै छ । कुनै न कुनै तहबाट यसबारे सोधिनु राम्रो हुन्छ ।’