दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले मालिकार्जुन गाउँपालिका–७ का ८३ वर्षीया भागरथी चन्द हत्या आरोपितलाई आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । चन्दको हत्या आरोपमा उनका नाती मालिकार्जुन ७ का २१ वर्षीय दिपक चन्द र दुहुँ गाउँपालिका ३ का १८ वर्र्षीय आशिष बमलाई प्रहरीले सार्वजनिक गरेको हो ।
भदौ ८ गते घरमा एक्लै रहेका बृद्ध एकल महिला चन्दलाई दुवै जनाले धारिलो हतियार हसियाँ, कैची, र चक्कुले प्रहार गरी हत्या गरेको उनीहरुले स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी तर्कराज पाण्डेले बताए । बृद्ध महिलाको घरमा पुगेर उनीहरुले घाटी, छाती, पेटमा हतियार प्रहार गरेको पाइएको उनले बताए ।
हत्या गरि उनलाई घरभन्दा तीन सय मिटर पर भीरालो जमिनमा फाली ढाकेको अवस्थामा शव भदौ ११ गते मात्रै शव फेला परेको थियो । बृद्धको घरबाट उनीहरुले १०० का अमरेकी डलर नोट पाँच, तथा १००० को कोरियन नोट १, तथा नेपाली ४० हजार रुपैयाँ लुटेको पाइएको छ । यस्तै तेपाले सुनको गहना ९० हजार रुपैयाँको विक्री गरेर लगेको पाइएको छ उनले भने ।
हत्या लगत्तै फराररहेका दुवै जनालाई प्रहरीले भदौ १२ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्क नजिकबाट पक्राउ गरेको डिएसपी पाण्डले बताए । सदरमुकाम खलंगामा बस्दै आएका दुवै जना हत्या लगत्तै भदौ ९ गते भारतको धारचुला गएको प्रहरीले जनाएको छ । भदौ १० गते सदरमुकाम खलंगामा सुन बिक्री गरेका थिए । दुवै जना भारतको बाटो हुँदै महेन्द्रनगर पुगेका थिए ।
उनीहरुलाई दार्चुला ल्याएर अनुसन्धान गरिएको थियो । उनीहरु विरुद्ध भदौ १२ गते ज्यानसम्बन्धी कसुर तथा अपराधमा मुद्धा दर्ता गरेर अनुसन्धान थालिएको उनको भनाई छ ।