बैतडी । जिल्लामा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको संख्या घटेको छ भने राहदानी बनाउनेको संख्या बढेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्यांक हेर्दा नागरिकता बनाउनेको संख्या घटेको र राहदानी बनाउनेको संख्या बढ्दै गएको हो।
गत आर्थिक वर्ष २०७९÷०८० मा छ हजार तीन सय ३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। जसमा ३ हजार ३ सय ९६ पुरुष र २ हजार नौ सय ४२ महिलाले नागरिकता बनाएका हुन्। जसमध्ये १२ जनाले वैवाहिक अंगिकृत नागरिकता बनाएका छन्। यस्तै पाँच जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन्।
आर्थिक वर्ष २०७८÷०७९ मा ८ हजार पाँच सय १४ जनाले नागरिकता बनाएका थिए। यो एक वर्षको अवधिमा ४ हजार दुई सय ५७ पुरुष र ४ हजार दुई सय ५७ महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्।
यस्तै २० जनाले वैवाहिक अंगीकृत नागरिकता बनाएका छन्।
यस्तै ४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन्।
आर्थिक वर्ष २०७७÷७८ मा ५ हजार पाँच सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने ६ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए।
यसैबीच यहाँबाट राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ। गत वर्ष २०७९÷०८० मा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार छ सय ८० जनालाई राहदानी वितरण गरिएको छ। जसमा २ हजार चार सय ९६ पुरुष र एक सय ८४ महिला रहेका छन्। यो वर्ष द्रुत सेवाको लागि एक जनाको पनि सिफारिस गरिएको छैन।