वर्षातले बिग्रिएका सडक खोल्दै महाकाली नगरपालिका

दार्चुला । वर्षातले बिग्रिएका कतिपय महाकाली नगरपालिकाभित्रका सडक खुलाउने प्रयास नगरपालिकाले गरेको छ । महाकाली नगरपालिकाले खलंगा देखि दल्लेख सडक खण्ड अन्तर्गतका अवरुद्ध सडक डोजर लगाएर खुलाउने प्रयास गरेको हो ।
खलंगा खानेपानी ट्याङ्कीदेखि डुङुरीसम्मका विभिन्न सडक खण्डमा डोजर लगाएर सडक खुलाउने प्रयास भइरहेको नगर प्रवक्ता शंकर सिह डोबालले बताए । बर्षाका कारण यो सडक ठाउँ ठाउँमा अवरुद्ध भएको छ । चार पटक नगरपालिकाले यो क्षेत्रमा डोजर लगाएर सडक खुलाएको छ ।
नौगाड जोड्ने यो सडकमा ठेकेदारले काम नगर्दा अहिले स्थानीयलाई सास्ती भइरहेको हो । कालोपत्रे निर्माणको लागि ठेक्का भए पनि अहिलेसम्म ठेकेदारले यो सडक खण्डमा काम गर्न आएको छैन् । सडक खुलाउने प्रयास नगर्दा नौगाड, र महाकाली नगरपालिकाका वडा नम्बर २, ३ का स्थानीयले सास्ती भोग्दै आएको व्यापारी मंगलसिह ठगुन्नाले बताए ।
महाकाली नगरपालिकाले नगरभित्रको क्षेत्रभित्रको सडक खुलाउनुपर्छ उनले भने, दल्लेख क्षेत्रमा नौगाड गाउँपालिकाले आफ्नै लगानीमा भए पनि सडक खुलाउनुपर्छ । सडक नहुँदा नौगाडका दल्लेख, महाकाली नगरपालिकाको मुल्ला मैखौली, सेला लगायतका क्षेत्रबाट आउने तरकारी समेत आउन पाएको छैन् ।
२०७६ सालबाट प्रदेश गौरबका योजनाको रुपमा रहेको यो सडक खुलाउन सबैले लाग्नुपर्नेमा उनको जोड छ ।
वर्षातको समयमा पानीका कारण ठाउँ ठाउँमा खाल्डा खुल्डी परेर सडक भासिएका छन् । केही ठाउँमा पहिरो आएर सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउन नगर प्रमुख नरसिह चैसिर समेत स्थलगत पुगेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार