नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १२ गते सदरमुकाम खलंगामा सम्पन्न भएको छ । सन् २०२३ को जनवरी देखि जुनसम्म छ महिनाको अवधिमा संकलन गरिएका घट्नाहरुको बारेमा सरोकारवालाहरुबीच अर्धबार्षिक समीक्षा गरिएको हो ।
जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुको बारेमा सरोकारवालाहरुको सुझाव संकलनको लागि समीक्षा गरिएको हो । दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी प्रदीपसिह धामीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लाको मानव अधिकारको अवस्था विषयक प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले प्रस्तुत गरे ।
कार्यक्रममा इन्सेक प्रतिनिधि कार्कीले छ महिनाको अवधिमा जिल्लामा ३४ घट्ना अभिलेखीकरण भएको जानकारी गराउनुभयो । इन्सेकको अभिलेख अनुसार जिल्लामा ५ वटा बलात्कार, २८ वटा घरेलु हिंसा, तथा एक वटा बहुविवाहको घट्ना अभिलेख गरिएको छ । यस्तै आर्थिक सामाजिक तथा सांस्कृति अधिकार र स्वास्थ्य अधिकारको एक–एक घटना अभिलेखीकरण गरिएको छ ।
कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी धामीले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा राज्यलाई झकझक्याउन इन्सेकले विगतदेखि भूमिका खेल्दै आएको बताए । उनले भने ‘जिल्लामा इन्सेकले जिल्लाको मानव अधिकारको अवस्था अभिलेखीकरण र वकालतमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन महत्वपूर्ण भूमिका खेलेको छ ।’ इन्सेकले गर्ने काममा जिल्लास्थित सरोकारवाला निकायहरुले पनि सहयोग गर्नुपर्ने उहाँले धारणा राखे ।
महिला मानव अधिकारकर्मी गौरी बडालले अहिले पनि महिलाहरु जिल्लामा पीडित हुने संख्या बढेको भन्दै महिलाको सुरक्षामा विशेष भूमिका खेल्न सरोकारवालाहरुलाई आग्रह गरिन । अहिले नौ वटै स्थानीय तहमा न्यायिक समिति हुँदाहुँदै पनि महिलासम्बन्धी अधिकांश घट्ना जिल्लामै आउने गरेका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी तर्कराज पाण्डेले मानवअधिकारको सवालमा सुरक्षा निकाय सम्वेदनशील रहेको बताए । प्रहरीमा आउने मुद्धाको सवालमा प्रहरीले निष्पक्ष भएर काम गर्दै आएको उल्लेख गरे ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्तले यो वर्ष जिल्लामा बालअधिकारका घट्ना बढेको प्रति चिन्ता व्यक्त गरे । विभिन्न कारणले बालबालिकाको मृत्यु भइरहेका छन् । यो निकै चिन्ताको विषय हो, उनले भने ।

सम्बन्धित समाचार

ताजा समाचार