डेंगु सङ्क्रमित बढेपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान

डेंगु सङ्क्रमण बढेसँगै दार्चुलाको महाकाली नगरपालिकाले डे‌‌गु गराउने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ । नगरपालिकाले नगरभित्रका आठ वटा ठाउँलाई केन्द्र बनाएर ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको हो ।
शुक्रबार देखि आइतबारसम्म अभियान थालिएको नगरपालिका स्वास्थ्य संयोजक जयबहादुर फर्सवानले बताए । सडक छेउछाउ पर्ने महाकाली नगरपालिकाको लास्कु, श्रीवगड, मल्लो बंगाबगड, मोहती, ऐरान, धौलीगाड, सकार, धाप र दत्तु क्षेत्रमा डेंगु खोज र नष्ट अभियान चलाइएको छ । असोज १८ देखि २० गतेसम्म अभियान सञ्चालन हुनेछ ।
लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदलौ अभियान चलाइएको उनले बताए । विभिन्न ठाउँमा डेंगुको संक्रमण बढ्दै गएकाले सतर्कताका लागि नगरपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख फर्सवानको भनाई छ ।
यस अभियान कार्यान्वयका लागि स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार, संस्था लगायतको टोली परिचालन गरिएको छ ।
डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको छ । ‘घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेंगुका लार्भा छन् । घरभित्रनै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेको छ,’ उनले भने, ‘समान्य जानकारी नहुँदा डेंगु फैलिने भएको हुँदा अभियानमार्फत सचेतना दिने काम भइरहेको छ ।
डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन् ।
एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । उक्त लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ ।
डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । पोथी जातको लामखुट्टेले अण्डा पार्ने वेलामा टोक्ने गर्छ । एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जान्छ ।
दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

सम्बन्धित समाचार

ताजा समाचार