कालापानीको मुहानबाट निस्कने महाकाली नदीको मुहान तराईको फाँटसम्म पुग्दा डम्पिङ साइडको रुपमा परिणत बनेको छ । नेपाल र भारतीय बस्तीको फोहोर र शौचालयहरू महाकालीमै मिसाइएपछि हजारौँ मानिसले कुनै न कुनै रुपमा प्रयोग गर्दै आएको महाकाली नदी प्रदुषित बन्दै गएको हो ।
नेपाल–भारतको पश्चिमी सिमानाको महाकाली नदी दुवै देशको फोहोर विसर्जन गर्ने स्थल बन्दै गएको छ । नदीमा दुई देशका निकटवर्ती सहरको फोहोर थुप्रिँदा नदी प्रदूषित बन्दै गएको हो ।
सदरमुकाम खलंगाको फोहोर महाकाली नदी किनारमै भेटिने गरेको छ । कुहिने र नकुहिने फोहोर सबै महाकाली किनारमा भेटिने गरेको छ । सदरमुकाम खलंगाको बंगाबगड, पुलघाट, तिंकरखेडा, गल्फैसम्मका बस्तीको फोहोर कुनैकुनै रुपमा महाकाली नदीमा पुगेको छ ।
नदीमा मात्र हैन नदी वरपरसमेत फोहोरको डंगुरु लागेपछि जिल्ला प्रशासन कार्यालयकै अगुवाईमा नदी सरसफाई अभियान सञ्चालन भएको छ । ‘कुुरा होइन काम गरौं, अरूलाई दोष दिनुभन्दा पहिले आफ्नो दायित्व निर्वाह गरौं’, भन्ने मूल नाराका साथ जिल्ला प्रशासन कार्यालयको अगुवाईमा महाकाली नदी सरसफाई अभियान सञ्चालन गरिएको हो ।
पवित्र नदीलाई मानवका कारण फोहोर गर्न नहुने भन्दै प्रमुख जिल्ला अधिकारी किरण जोशीले नदी स्वच्छता राख्नु सबैको कर्तव्य भएको बताइन् । ‘नदीको महत्व सबैले बुझ्न जरुरी छ’ उनले भनिन्, ‘मानवमात्र नभई जलचर पनि यही नदीमा आश्रित छन् ।’ उनले नदी छेउछाउ घर भएका तथा व्यवसाय सञ्चालनगर्दै आएकाहरुलाई नदी वरपर र नदीमा फोहोर मिसावट नगर्न आग्रह गरिन् । पहिलो चरणमा हामीले सफाई ग¥यौँ उनले भनिन्, विस्तारै समुदायले पनि नदी स्वच्छताको लागि जागरुक बन्नुपर्छ ।
बजारका अधिकांश घरधनी तथा व्यवसायीले नदीमा फोहोर विर्सन गर्नेगरेका छन् । होटलबाट निस्कने मदिराजन्य बोतल तथा प्लाष्टिकहरु नदी छेउछाउमा प्रशस्त मात्रामा भेटिएको महाकाली नगरपालिका फोहोर मैला व्यवस्थापन शाखा हेर्दै आएका केशव विष्टले बताए । ‘पूरै टिप्परमा फोहोर संकलन गरियो,’ उनले भने, ‘कयाँैँ फोहोर विर्सजन पनि गरिएको छ ।’ नागरिकलाई समेत पटकपटक फोहोर नदी छेउछाउ नफाल्न आग्रह गर्दा पनि कार्यान्वयन हुन नसकेको उनले बताए ।
खलंगा पुलबाटबाट सुरु गरिएको महाकाली नदी सरसफाई अभियान निरन्तर सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिइन् । यो अभियान अब निरन्तर हुनुपर्छ । एकदिनको मात्र सरसफाईले यो पुग्दैन् ।
होटलबाट निस्कने फोहोर, बजार आसपासको बस्तीले नदीको छेउमै गर्ने खुला शौच र ढल तथा शौचालयको पाइप पनि नदीमा मिसाइएको छ । यस्तो अवस्थामा नदीको स्वच्छता कायम गर्नु निकै जटिल छ । यतिमात्र हैन्, विभिन्न ठाउँबाट आएका मजदुरहरुको शौचालय समेत महाकाली नदी किनार क्षेत्र बनेको छ ।
केही वर्षअघि कञ्चन बग्ने महाकालीमा आजभोलि पलास्टिक तथा सिसाका बोतलहरू, सडेगलेका बस्तु र मरेका बस्तुभाउसमेत विसर्जन गरिनेस्थलको रुपमा परिणत भएको छ ।
दार्चुलाको व्याँस,हुँदै बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै महाकाली नदी अघि बढेको छ । नदी तटीय क्षेत्रका अधिकांश मानिस अहिले पनि महाकालीकै पानी खाना पकाउने, लुगा धुनेजस्ता घरायसी प्रयोजनमा प्रयोग गर्ने गरेको गैरसरकारी संस्थाका अभियन्ता नारायण जोशी बताउँछन् ।
अहिले पनि खलंगा बजार क्षेत्रबाट निस्कने ढल महाकाली नदीमै पठाइएको छ । बजारमात्र नभई घरबाट ल्याइएका ढलको निकास महाकाली नदी बनेको छ ।
महाकाली नदी वरपर सरसफाई अन्तर्गत जिल्लास्थित सुरक्षा निकायको उपस्थितिमा सरसफाई गरिएको छ ।