दार्चुला — आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको मूल्याङ्कनमा दार्चुलाको नौगाड गाउँपालिका सुदूरपश्चिम प्रदेशमै दाेस्रो स्थानमा आएको छ ।
स्वास्थ्य निर्देशनालय डाेटीले आयाेजना गरेकाे एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा
सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये नाैगाड दोस्रो स्थानमा आएकाे हाे ।

गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर, सूचक सुधार र कार्यक्रम कार्यान्वयनमा देखाएको प्रभावकारी कामकाजका कारण यो उपलब्धि हात पारेको हो।
स्वास्थ्य सेवा प्रवद्र्धन तथा प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्याएकोमा सम्मान गरेकाे छ ।
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय, डोटीले आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य सूचकको उपलब्धि, कार्यक्रम कार्यान्वयन, सेवा प्रवाहको अवस्था, नवप्रवर्तन र उत्कृष्ट प्रदर्शनको आधारमा नौगाड गाउँपालिकालाई “सम्मानपत्र” प्रदान गरेको हो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करसिह धामीले बताए।
स्वास्थ्य सेवा सुदृढीकरण तथा स्थानीयस्तरमा पहुँच विस्तारका लागि गाउँपालिकाले गरेका प्रयासहरू, स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिएका सेवाहरू, तथा मातृ–शिशु स्वास्थ्य, खोप कार्यक्रम, सरसफाइ र पोषण अभियानमा प्राप्त सफलताका कारण नौगाड प्रदेशभरि मै दाेस्रो भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सम्मानपत्रमा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा देखिएको प्रतिबद्धता, स्वच्छ प्रशासन, जनसहभागिता र स्वास्थ्यकर्मीहरूको सक्रियताप्रति प्रशंसा व्यक्त गरिएको छ।
स्वास्थ्य क्षेत्रमा गरिएका निरन्तर प्रयास र उपलब्धीले नौगाड गाउँपालिकालाई अझ जिम्मेवारीका साथ सेवा विस्तारमा प्रेरित गर्ने गाउँपालिमका अध्यक्ष दलजीतसिह धामीले बताए ।
याे सफलतामा योगदान पुर्याउने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा मूल्याङ्कनमा संलग्न सबैप्रति गाउँपालिकाले धन्यवाद ज्ञापन समेत गरेको छ।






