म आश्रम राख्न सक्दिन बुबा !

दीपा भण्डारी । बुबा जब मसँग दाँत थिएन ।
आफ्नै दाँतले चपाएर खुवाइ दिन्थ्यौ।
जब मसँग उभिन सक्ने खुट्टा थिएन ।
तिमी काँधमा बोक्दै संसार देखाइ दिन्थ्यौ।।

बुबा मेरो तोते बोलीमा शब्द आउँदैनथ्यो ।
तिमी मेरो आँखा हेरेर मुस्कान बुझ्थ्यौ।
मेरो अनावश्यक जिद्दीले आँसु थाम्न नसकेको बेला
तिमी निःशब्दै करुणा पोख्थ्याै र आँसुबाट नै बुझिदिन्थ्याैं ।

प्रिय बुबा बुढ्यौलीले आज तिम्रा हात काँप्छन् ।
तिम्रा आँखा धमिला छन् शरीर थाकेको छ ।
मेरो रहरको अगाडि आफ्ना सपना लिलामी भए ।
तर अझै विशाल छ मेरा लागि धैर्य, आशीर्वाद, र आशा ।

मेरो एकएक ईच्छा पुरा गर्न यो बुढ्यौलीमा पनि ।
तिम्रा हात मैलो छन् ,कालो छन्,लुगा फाटेको छन् ।
तिम्रो मेहनतको जोरले स्वदेशकाे सपना मौलाउने बेला ।
प्रिय बुवुबा अझै मेहनतको मैदानमा उत्रिएका तिमीलाई ।
आफै सोच्नुहुन्छ म आश्रममा राख्न सकौला ?

बुबा तिमी मेरो जरा मात्रै नभई मेरै श्वासको आधार हौं।
म कसरी काट्न सक्छु आफ्नै जरा,आफ्नै श्वास ।
बाध्यताको भारी बोक्दा मलाई उचालेका काँध ।
मैले आश्रममा पुर्‍याउने काँध बन्ने शक्ति छैन ।

तिमीलाई तिम्रो घरमा मेरो मुटुको आँगनमा ।
जबसम्म श्वास रहन्छ, जबसम्म मन धड्किन्छ।
प्यारा बुबा म राख्ने प्रयास गर्छु हर दिन मेरो आँखामा
म आश्रम राख्न सक्दिन किनकि तिमी नै मेरो सबथोक हौं ।।

सम्बन्धित समाचार

ताजा समाचार