नेपालको ग्रामीण शिक्षा क्षेत्रको सुधार, समस्या चूनौती र समाधान

हरकसिह विष्ट : नेपालको भौगोलिक अवस्थाले देशको सामाजिक आर्थिक र शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । विशेष गरी भौगोलिक विकटता ग्रामीण शिक्षा क्षेत्रमा ठूलो असर परेको देखिन्छ । दुर्गम भूभाग, अप्ठ्यारो भौगोलिक बनावट र सीमित स्रोत साधनको कारणले पनि ग्रामीण क्षेत्रको शिक्षा अवस्था कमजोर बन्दै गइरहेको छ । जसको प्रत्यक्ष असर देशको शैक्षिक प्रणालीमा समेत परिरहेको देखिन्छ । सडक सञ्जालको अभाव उचित स्रोत साधनको कमि भरपर्दो सञ्चारको कमी जस्ता विभिन्न भौतिक पूर्वाधारको कमीले गर्दा ग्रामीण क्षेत्रको शिक्षा अवस्था मात्र नभई जनजीवन नै कठिन भइरहेको छ । देशको करिब आधाभन्दा पनि बढी जनसंख्या भएको ग्रामीण क्षेत्र अहिले देशको प्राथमिकता पर्ने सकेको छैन् । किनभने राज्यको बजेट विनियोजित भाषणमा मात्र सीमित रहने भएकाले ग्रामीण क्षेत्रको विकासमा ढिलाई र शैक्षिक प्रणाली खस्किदो अवस्थामा छ । जुन देशको आर्थिक सामाजिक राजनीतिक र शैक्षिक जस्ता पक्षहरुमा निकै असर परेको देखिन्छ । जुन देशको प्राथमिकतामा नपर्नु नै प्रमुख कारण हो ।
नेपालमा भौगोलिक विकटताको कारणले ग्रामीण कतिपय क्षेत्रमा सडक सञ्जाल नभएका वा असहज बाटो भएका स्थानहरूमा विद्यालयसम्म पुग्न कठिनाई हुने भएकाले विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुने खतरा हुन्छ । साथै नेपाल एक विकासोउन्मुख देश भएकाले प्रयाप्त स्रोत साधनको दक्ष जनशक्तिको कमी आर्थिक अवस्थाको अभावले गर्दा देशको ग्रामीण शिक्षा क्षेत्रमा सुधार हुन सकेको छैन । राज्यबाट उचित बजेट विनियोजित भए पनि उक्त बजेट प्रभावकारी रूपमा सञ्चालन नहुँदा ग्रामीण शिक्षा क्षेत्रमा निकै कठिनाई भइरहेको छ । जसको असर बालबालिका शिक्षित अभिभावक लगायत समग्र शिक्षा प्रणालीमा समेत पर्छ । शिक्षाको पहुँच गुणस्तर , पूर्वाधार दक्ष जनशक्ति र प्रविधिको प्रयोगजस्ता पक्षहरुमा सुधार गर्नु आवश्यक छ । किनभने त्यसले ग्रामीण शिक्षा सुधारमा बालबालिका किशोरकिशोरी र युवाहरुलाई उज्यालो भविष्य निर्माण गर्न सक्षम बनाउँछ, जसले देशको समग्र विकासमा टेवा पुर्याउछ । ग्रामीण विद्यालयहरुमा प्रयाप्त भवन शौचालय, खानेपानी, छात्रावास र प्रविधिमैत्री वातावरण अभाव देखिन्छ । ग्रामीण क्षेत्रका कतिपय स्थानहरूमा शिक्षाको राम्रो पहुँच भएपनि त्यसको गुणस्तर कायम गर्न कठिनाई भएको छ।
नेपाल एक हिमाल, पहाड र तराई भू–भागले बनेको देश हो । जसले विविध भौगोलिक बनावट समेटेको छ । यस्ता भौगोलिक विविधताले देशको समग्र विकासमा अवसरसँगै चूनौती पनि ल्याएको छ । विशेषगरी शिक्षा क्षेत्रमा यसको प्रभाव अत्यन्तै गम्भीर छ । उच्च हिमाली भेगहरुमा कठोर भू– प्रकृति पहाडी क्षेत्रहरूमा विकट बस्ती र यातायातको अभाव तथा तराई क्षेत्रमा सामाजिक र आर्थिक असमानताले शिक्षाको पहुँचलाई सीमित बनाएको छ । ग्रामीण शिक्षाको अवस्था बिश्लेषण गर्दा धेरै पक्षहरुमा कमजोरी देखिन्छ। सबैभन्दा प्रमुख समस्या भनेको शिक्षाको पहुँच गुणस्तर र निरन्तरताको कमी हो । नेपालका अधिकांश ग्रामिण भेगहरुमा विद्यालय छन् तर उक्त विद्यालयहरुमा शिक्षकको दरबन्दी अपूर्ण छ त कतै दरबन्दी छ तर योग्य शिक्षक छैनन् । वर्तमान अवस्थामा ग्रामीण शिक्षा क्षेत्र निकै कमजोर बन्दै गइरहेको छ । कतिपय विद्यालयहरू वर्षौंसम्म अस्थायी भवनमा चलिरहेका छन् । जुन बर्खायाममा पढाइ नै बन्द हुने अवस्थामा पुग्छन्।
ग्रामीण क्षेत्रमा शिक्षा सुधारका लागि केही विशेष पहल आवश्यक छन् । पहिलो भौतिक पूर्वाधारमा व्यापक लगानी गर्नुपर्ने, पक्की भवन, शौचालय, खानेपानी, पुस्तकालय, छात्राबास, कम्प्युटर र इन्टरनेट जस्ता आधारभूत सुविधाले सिकाई वातावरण सुधार गर्छ ।
दोस्रो योग्य, अनुभवी, तालिम प्राप्त शिक्षकहरूलाई ग्रामीण क्षेत्रमा सेवा दिने वातारण तयार गर्नुपर्छ ः– यसका लागि उचित प्रोत्साहन, सेवा सुविधा तथा सुरक्षाको प्रत्याभूति आवश्यक हुन्छ ।
तेस्रो– स्थानिय पाठ्यक्रमको विकास र मातृभाषा शिक्षण प्रणालीलाई प्राथमिक कक्षादेखि लागू गर्नुपर्छ । जसले बालबालिकालाई बुझ्न र सिक्न सहज बनाउँछ ।
चौथो– विद्यार्थीहरूको नियमित उपस्थिति सुनिश्चित गर्न अभिभावकलाई शिक्षाको महत्वबारे सचेत गराउनु आवश्यक छ ।
नेपालमा शिक्षा क्षेत्रमा नीति त छ, तर यसको कार्यान्वयनमा कमजोर संरचना देखिन्छ । जुन विद्यालय व्यवस्थापन समितिहरुको प्रभावकारिताको कमी शिक्षकको नियमितता र उत्तरदायित्व निर्धारणको कमी शिक्षक दरबन्दीको कमी कतै विद्यालय भवन पूर्णरूपमा भएपनि शिक्षकको कमीले र सरकारी बजेटको न्यून उपयोग अनियमित अनुगमन र योजनाहरुको अव्यवस्थित कार्यान्वयनले शिक्षाको गुणस्तरमा गम्भीर असर पारिरहेको छ । यसको मुख्य समस्या अतिरिक्त पाठ्यपुस्तक ढिलो पुर्याउने तालिम कार्यक्रमको कमी, स्थानीय सरकारको निगरानीको कमी राज्यबाट विनियोजित बजेटकोसही ढंङ्गबाट प्रयोग नहुनु र समसामयिक प्रविधिको अभावसमेत प्रमुख समस्या बनेको छ । अभिभावकहरुको शिक्षाबारे चेतनाको अभावले पनि ग्रामीण विद्यालयहरुमा विद्यार्थीहरूको उपस्थिति दिनप्रतिदिन घट्दो क्रममा छ ।

नेपालको ग्रामीण शिक्षा क्षेत्र समग्र शैक्षिक प्रणालीको एक महत्वपूर्ण हिस्सा भएपनि विभिन्न संरचनात्मक, सामाजिक, राजनीतिक र आर्थिक समस्याले ग्रस्त छ । ग्रामीण क्षेत्रका विद्यालयहरुमा गुणस्तरीय शिक्षाको अभाव अपर्याप्त पूर्वाधार, शिक्षकको कमी सामाजिक र सांस्कृतिक अवरोधहरु र प्राविधिक पहुँचको अभावले शिक्षाकोस्तरलाई खस्काएको छ। यी समस्याहरूले ग्रामिण बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्नबाट वञ्चित गरिरहेको छ । जसले उनीहरूको भविष्य र राष्ट्रको समग्र विकासमा नकारात्मक प्रभाव पार्छ । ग्रामीण क्षेत्रका विद्यालयहरुमा आधारभूत पुर्वाधारको किन प्रमुख चुनौती हो भन्दा कोभिड–१९ महामारीले अनलाइन शिक्षाको महत्व उजागर गर्यो तर ग्रामीण क्षेत्रमा प्रविधिको अभावले गर्दा विद्यार्थीहरु यस्ता अवसरबाट वञ्चित रहे । यो पूर्वाधारको अभावले विधार्थीमा पर्न गएको प्रमुख समस्या हो ।
शिक्षकको अभाव र तालिमको कमी अर्को ठूलो समस्या हो । ग्रामीण क्षेत्रमा योग्य शिक्षकहरूको दरबन्दी रिक्त रहन्छ किनभने धेरै शिक्षकहरू शहरमा बस्न रुचाउछन् । जसले गर्दा ग्रामीण क्षेत्रमा शिक्षकहरु प्रायः स्थानिय सरकार केन्द्रित शिक्षकहरू हुन्छन, जुन योग्य अनुभवी र तालिम केन्द्रित हुँदैनन् । यस्ता शिक्षकको दरबन्दीले ग्रामीण क्षेत्रको शिक्षामा ठूलो प्रभाव परेको छ ।
स्थानीय सरकारद्वारा नियुक्ति हुने शिक्षकहरू बढी जसो आफ्ना नातागोता सम्बन्धित व्यक्तिहरू हुन्छन । तर तिनीहरू पूर्ण योग्य अर्थात तालिम प्राप्त छैनन् । ग्रामीण क्षेत्रमा योग्य शिक्षक नहुने होइनन् तर तिनीहरूको योग्यताका आधारमा नियुक्ति हुँदैन् । किनभने योग्य शिक्षकले नियुक्ति पाउन कुनै न कुनै स्थानीय सरकारसंग सम्बन्धित अर्थात पार्टीको कार्यकर्ता हुनुपर्छ । तब मात्र उक्त शिक्षकले नियुक्ति पाउँछ ।
अर्को मुख्य समस्या भनेको पाठ्यक्रम अभाव र सान्दर्भिकता पनि एक प्रमुख समस्या हो । हालको पाठ्यक्रम प्रायः शहरी क्षेत्रको आवश्यकता र सन्दर्भमा आधारित छ । जसले ग्रामीण विद्यार्थीको जीवनशैली र आवश्यकतासँग मेल खाँदैन । यस्तो पाठ्यक्रमले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन र रोजगारीका अवसरहरू प्राप्त गर्न कठिनाई सिर्जना हुन्छ ।
सामाजिक र आर्थिक चुनौतीहरूले पनि ग्रामीण शिक्षालाई जटिल बनाएका छन् । ग्रामीण क्षेत्रका अधिकांश परिवारहरू गरिबीको रेखामुनि छन् र उनीहरूले आफ्ना बालबालिकालाई स्कूल पठाउनुभन्दा खेतीपाती, घरायासी काम, वा साना उद्योगमा लगाउन बाध्य हुन्छन् । विशेषगरी बालिका शिक्षामा पहुँचको कमी छ । किनभने धेरै परिवारहरूले छोरीहरुलाई पढाउनुको सट्टा चाँडै विवाह गरिदिन्छन् । लैङ्गिक असमानता, जातीय विभेद र सामाजिक रुढिबादीले पनि शिक्षाको पहुँचलाई सीमित गरिदिएको छ । यस्ता चूनौतिहरुले विद्यार्थीहरूको स्कूल छोड्ने दर बढ्दो रहेको छ, जसले दीर्घकालीन रूपमा सामाजिक र आर्थिक असमानता झन् गहिरो बनाउँछ।
शिक्षा विकासको मेरुदण्ड र प्रत्येक व्यक्तिको आधारभूत अधिकार हो । नेपालको वर्तमान अवस्थामा ग्रामीण क्षेत्रमा अझै पनि गुणस्तरीय शिक्षाबाट वञ्चित हुने विद्यार्थीहरूको संख्या धेरै छ । ग्रामीण र शहरी क्षेत्रको शिक्षाले समग्र देशको सामाजिक आर्थिक तथा मनोवैज्ञानिक रूपमा प्रभाव पारिरहेको छ । ग्रामीण शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्न सकियो भने यसले राष्ट्रको विकासमा अहम् भूमिका निभाउन सक्छ ।
नेपालको ग्रामीण शिक्षा सुधारका लागि सबैभन्दा आवश्यक कदम भनेको भौतिक पुर्वाधारको विकास हो । गाउँका विद्यालयहरुमा सुरक्षित र पक्की भवन, पर्याप्त कक्षाकोठा, छात्रावास, स्वच्छ शौचालय, खानेपानी, पुस्तकालय, कम्प्युटर, इन्टरनेट आधारभूत सुविधाहरु सुनिश्चित गर्नु आवश्यक छ। यस्ता सुविधाले सिकाईको वातावरण सुधार गर्छ। साथै कोभिड– १९ पछि प्रविधिमैत्री शिक्षा अनिवार्य बनिसकेको सन्दर्भमा ग्रामीण क्षेत्रको डिजिटल पहुँच सुनिश्चित गर्नु समय सापेक्ष आवश्यकता हो ।
नेपालीको ग्रामीण शिक्षा क्षेत्रमा भौगोलिक विकटता, आधारभूत पुर्वाधारको अभाव, योग्य शिक्षाको कमी, प्रविधिको पहुँच नहुनु र सामाजिक – आर्थिक औरोधजस्ता समस्याहरू छन्। धेरै विद्यालयमा अस्थायी भवनमा सञ्चालन भइरहेको छन् भने शिक्षक दरबन्दी अपुरो छ । पाठ्यक्रम पनि ग्रामीण सन्दर्भअनुसार सान्दर्भिक छैन । यी समस्याको समाधानका लागि विद्यालयमा भौतिक पूर्वाधारको आवश्यक छ। साथै योग्य शिक्षकलाई ग्रामीण क्षेत्रमा सेवा दिन प्रोत्साहन गर्न, स्थानीय भाषामा शिक्षण प्रणाली लागू गर्न, र शिक्षा नीति कार्यान्वयनमा जवाफदेहीपन ल्याउन आवश्यक छ । यसरी मात्रै गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न सकिन्छ।
निष्कर्ष ः
नेपालको ग्रामिण शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि बहुपक्षीय प्रयास आवश्यक छ। भौतिक पूर्वाधार, योग्य शिक्षक, स्थानीय पाठ्यक्रम, प्रविधिको प्रयोग, र सामाजिक सचेतनाको अभिवृद्धिजस्ता उपायहरू अपनाएमा मात्र ग्रामीण बालबालिकाहरू गुणस्तरीय शिक्षाबाट लाभान्वित हुन सक्छन् । शिक्षा सबैको अधिकार हो, र यसलाई देशको कुना–कुनासम्म पु¥याउन सरकार, समुदाय र संस्थाहरूको एकीकृत प्रयास अपरिहार्य छ । ग्रामीण शिक्षा सुधार राष्ट्रको सामाजिक–आर्थिक समृद्धिको मूल आधार हो, जसलाई वर्तमान अवस्थामा नै मजबुत बनाउनैपर्छ ।
यसले समग्र राष्ट्रको सामाजिक आर्थिक राजनैतिक तथा मनोवैज्ञानिक क्षेत्रमा समेत ठूलो योगदान पुर्याउँछ । शिक्षामा लगानी भएमा मात्र देश विकासमा टेवा पुर्याउनुका,साथै ग्रामीण शिक्षा क्षेत्रको सुधार केवल एक क्षेत्रको आवश्यकता होइन, यो समग्र राष्ट्रको समृद्धिको आधार हो । शिक्षा बिना ग्रामीण क्षेत्रको सामाजिक, आर्थिक र सांस्कृतिक विकास सम्भव छैन। आज पनि हजारौँ बालबालिका गुणस्तरीय शिक्षाबाट बञ्चित छन्, जुन राष्ट्रका लागि चिन्ताको विषय हो ।
समस्या र चुनौतीहरू धेरै छन् तर समाधान पनि सम्भव छन् — यदि राज्य, स्थानीय तह, शिक्षक, अभिभावक र समुदाय सबैले साझा प्रयास गर्छन् भने। आधुनिक प्रविधिको प्रयोग, शिक्षामा लगानी, पूर्वाधार विकास, शिक्षक व्यवस्थापन र अभिभावकको सचेत सहभागिताले ग्रामीण शिक्षालाई गुणस्तरीय, समावेशी र दिगो बनाउन सकिन्छ ।
अन्ततः, शिक्षा सुधार गर्नु भनेको राष्ट्रको भविष्य सुधार गर्नु हो। ग्रामीण शिक्षामा गरिएको प्रत्येक सुधारले उज्यालो समाज निर्माणतर्फ एक कदम अगाडि चाल्दछ।
लेखक
दार्चुला बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार