व्याँस गाउँपालिका–१ छाङ्गरु टिंकर तथा वडा नम्बर २ को दुम्लीङ कल्जु जोड्ने गरी अहिले घोरेटो बाटोको काम धमाधम भइरहेको छ । आफ्नै गाउँ जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यताका बीच संघीय सरकारको सर्शत अनुदानमार्फत अहिले घोरेटो बाटो निर्माण भइरहेको हो ।
गत जेठ २५ गतेबाट मिसन–देवहरी जेभी निर्माणबीच कुल पाँच करोड छ लाख नौ हजार ९९४ रुपैयाँ लागतमा घोरेटो बाटो निर्माण भइरहेको हो । संघीय सरकारको सर्शत अनुदान अन्तर्गत कुल पाँच करोड ५० लाख रुपैया लागतमा ०८१ फागुन १३ गते बोलपत्र आह्वान भएको थियो । बोलपत्रमा सबैभन्दा घटि मूल्यमा मिसन–देवहरी जेभीले ठेक्का पाएपछि यो क्षेत्रमा घोरेटो बाटो निर्माण कार्य भइरहेको छ ।


असार १५ गतेभित्र सक्नेगरी निर्माण कम्पनीलाई कार्यदेश दिइएको छ । जसअनुसार हालसम्म ६० प्रतिशत बढि काम सम्पन्न भएको व्याँस गाउँपालिकाका सव इन्जिनियर प्रेम कोट्टारीले जानकारी दिए । निर्माणको काम असार २० गतेसम्म लम्ब्याउने गाउँपालिकाको तयारी छ । निर्माणको काम सक्ने लक्ष्यअनुरुप केहि दिन थप गरेर काम गराउने योजना छ, उनले भने ।
अहिले निर्माण कम्पनीले व्याँसको बुदि, दोपाखे, घाटिबगर र अपि खोला क्षेत्रमा घोरेटोबाटो बनाउने काम गरिरहेको छ । तोकिएको समयावधि भित्र ९० प्रतिशत हाराहारीमा काम सम्पन्न गर्ने लक्ष्य रहेको मिसन देवहरी जेभीका प्रतिनिधि केशबबहादुर पालले बताए । झण्डै तीन दशकदेखि अवरुद्ध रहेको व्यासको घोरेटो बाटो निर्माणको जिम्मेवारी पाएको कारण सकेसम्म तोकिएको काम सक्ने लक्ष्य छ । यो क्षेत्रमा १२० जना बढि मजदुर परिचालन गरिएको छ । निर्माण कार्य चलिरहेको हुँदा लक्ष्य भेट्टाउन सकिन्छ ।


घोरेटो बाटो निर्माणअन्तर्गत जाली भर्ने कार्य ८ सय घनमिटर, माटो खन्ने कार्य १ हजार घनमिटर, मेसिनरी पर्खाल निर्माण ६ सय ३८ घनमिटर र ढुंगा विछ्याउने कार्य ३ सय घनमिटर गर्नुपर्नेछ । यसैगरी नरम चट्टान काट्नेकार्य १ सय ४० घनमिटर, कडा चट्टान काट्ने कार्य १ सय ९२ घनमिटर, ढुंगा र गिट्टीसहितको पलम कंक्रिट ४ सय ५० घनमिटर, आरसिसि निर्माण ६५ घनमिटर, सुख्खा ढुंगाको पर्खाल निर्माण १ हजार घनमिटर निर्माण गर्नुपर्ने ठेक्का सम्झौता छ । करिब ४५ क्वीन्टल फलामे छड प्रयोग गर्नुपर्ने छ ।


‘अप्ठ्यारो ठाउँमा समेत निर्माण कार्य करिब अन्तिम चरणमा पु¥याएका छौं,’ निर्माण व्यवसायी पालले भने, ‘छोटो समयमा मौसमले साथ दिदा काम गर्न सहज भयो ।’ दुइ ओटा वडा जोड्न झण्डै ३१ किलोमिटर क्षेत्रमा घोरेटो बाटो निर्माण भइरहेको छ । महाकाली नदी किनारमा पर्खाल लगाएर काम गर्नु निकै चूनौति भए पनि अहिले त्यो क्षेत्रमा काम सकिएको छ ।
पञ्चायतकालमा निर्माण भएको घोरेटो बाटो पछिल्लो समय भत्किएको थियो । भारतले सडक निर्माण गर्दा धेरै ठाउँमा सडक भत्किएको थियो । अहिले महाकाली नदी किनारै फेरि घोरेटोबाटो निर्माण गरिएको छ । भत्किएको ठाउँमा राम्रो सँग मर्मत नहुँदा व्याँस १ का स्थानीयको आवतजावत ठप्प बनेको थियो । जसको कारण व्याँसको छांगरु र टिंकरका स्थानीयले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । पैदल घोरटो बाटो निर्माणपछि आफ्नै भूमि भएर स्थानीयलाई हिड्डुल गर्न सहज हुने पालिकाको विश्वास छ ।
नदी किनारबाटै अहिले घोरेटोबाटो उठाइएको छ । नदीको बहाव छेक्ने गरी पक्की संरचना निर्माण भइरहेको निर्माण कम्पनीको दाबी छ ।

टिंकर सडक निर्माणमा एक करोड बजेट
सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ देखि टिंकर सडकका लागि छुट्टै बजेट शीर्षक निर्धारण गरेको भएपनि बजेट न्यून राखेको छ । महाकाली कोरिडोरबाट छुट्याएर तुसारपानी–टिंकर खण्डलाई छुट्टै बजेट शीर्षक दिइए सडक निर्माणका लागि एक करोड मात्रै बजेट विनियोजन गरिएको हो ।
नेपाली सेनाबाट निर्माण भइरहेको महाकाली कोरिडोरअन्तर्गतको तुसारपानी–टिंकर खण्डलाई छुट्टै बजेट दिदा थोरै मात्रै बजेट दिएको भन्दै आलोचना भएको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुला–टिंकर सडकमा न्यून बजेट आएकोमा आपत्ति जनाउँदै सरकारको आलोचना गरेका छन ।
सरकारले सडकमा किन बजेट हालेन बडूले संसदमा भन्नुभएको छ, रातो किताबमा हेर्दा कहि बजेट देखेन् । सरकारका भौतिक मन्त्री, रक्षा मन्त्री सबैले सडकको निरीक्षण गर्नुभएको छ । त्रीदेशीय सीमा जोडिने सडक हो । तर बजेट शिर्षक हेँर्दा लज्जास्पद भयो ।
७९ किलोमिटर लामो बाटो नेपाली सेनाले निर्माण गरिरहेको भए पनि बजेट अभावले काम निकै सुस्त भइरहेको छ । चालू आर्थिक वर्षमा सेनाले हेलिकप्टरमार्फत जेसीभी छाङ्गरु पु¥याएर दुवैतर्फबाट सडकको ट्रयाक खोल्ने काम सुरु गरेको छ ।