बैतडीमा जारी प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगितामा कैलालीले पहिलो जित हासिल गरेको छ। यसका लागि कैलालीले दार्चुलालाई १० विकेटले पराजित गर्यो।

जितका लागि पाएको १०२ रनको लक्ष्य कैलालीले ८ ओभर २ बलमा विना विकेटको क्षतिमा भेट्टायो। जसमा मनिशा बोहराले अविजित ३९ रन र शोभा रोकायाले २८ रनको योगदान गरे।

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको दार्चुला १९ ओभर २ बलमा १०१ रनमा समेटियो। उसका लागि गीता चन्दले सर्वाधिक २० रन बनाइन्।
कैलालीका हिसिला खड्काले ३ विकेट र लक्ष्मी रानाले २ विकेट हात पारे। हिसिला प्लेयर अफ द म्याच चुनिइन्।
दुई खेल खेलेर एउटा खेल जितेको कैलालीको फाइनल पुग्ने सम्भावना जीवितै छ। लगातार दुई खेल हारेको दार्चुला भने प्रतियोगिताबाट बाहिरिएको छ।
सुदूरपश्चिम प्रदेश क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस १९ गते शुरू भएको प्रतियोगिता पुस २५ गते सकिनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छानेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले बताए।
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदै छ।










