आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित तिंकरबासी !

दार्चुला व्याँस गाउँपालिका–१ तिंकरका स्थानीय हरेक वर्ष स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन् । तिंकरमा आधारभूत स्वास्थ्य चौकी समेत नहुँदा स्थानीय आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन् ।
त्रिदेशीय नाकामा बसोबास गर्ने व्यासी सौका समुदाय हरेक वर्ष छ महिना यहाँ बसोबास गर्छन् । गत बैशाख अन्तिमसाता तिंकर उक्लिएका उनीहरुले अहिलेसम्म स्वास्थ्य चौकी न स्वास्थ्यकर्मी कोहि देखेका छैनन् । सामान्य विरामी हुँदा पनि भारतीय सुरक्षाकर्मीसँग पुगेर औषधि माग्नुपर्ने बाध्यता रहेको स्थानीय बीरेन्द्र तिंकरी बताउँछन् ।
‘धेरै स्थानीयले गाउँ जादा सदरमुकाम खलंगाबाटै औषधि बोकेर जार्नुपर्छ,’ उनले भने, ‘सामान्य टाउँको दुख्दा समेत स्थानीयले औषधि पाउँदैनन् । यहाँका स्थानीय विरामी भयो भने अकालमै ज्यान गुमाउनुको विकल्प छैन् ।’
छाङ्गरुमा स्वास्थ्य चौकी छ । तर तिंकर पुग्न पाँच घण्टा हिड्नुपर्छ । गाउँमा विरामी बोक्ने युवा मान्छे कमै बस्छन् । बुढापाकाहरु मात्रै गाउँमा छन् । युवाहरु केहि यो वर्ष चीनको ताक्लाकोट व्यापारमा गएका छन भने कोही सदरमुकाम खलंगामै व्यापार व्यवसाय गर्छन् ।
छ महिना हिमपात हुँदा यो क्षेत्रमा बस्न सकिदैन् । चिसो ठाउँ भएको हुँदा स्थानीय विरामी हुने सम्भावना बढि हुन्छ । तर राज्यले अहिलेसम्म तिंकरलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरेको तिंकरीको बुझाई छ ।
तिंकर गाउँ भन्दा एक किलोमिटर माथि इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट छ । उनीहरुले पनि आफैले औषधि लिएर गएका हुन्छन् ।
तीन चार वर्षदेखि निर्माण थालिएको स्वास्थ्य भवन अझै पूर्ण हुन नसकेको व्याँस गाउँपालिका वडा नम्बर १ का वडासचिव विनोदसिह बुढाथोकीले बताए । ‘अहिलेसम्म स्वास्थ्य संस्था सुचारु गर्न सकिने अवस्था थियो,’ उनले भने, ‘तर भवन निर्माणकार्य पूरा गर्नको लागि पनि समयमै बजेट दिइएन् । यो वर्ष भवन निर्माण कार्य पूरा गरेर स्वास्थ्य भवन निर्माण कार्य पूरा हुने अवस्थामा पुगेको छ ।’ तिंकरमा मात्र ७० घरधुरीको बसोबास छ ।
व्याँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिह कुँवर तिंकरमा आगामी वर्षदेखि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिने बताउँछन् । भवन निर्माणपछि जनशक्ति भर्ना गरेर स्वास्थ्य इकाई सुचारु गर्ने तयारी छ । यो वर्ष कात्तिकभित्र स्थानीय छ महिनाको लागि खलंगा बसाई सर्ने हुँदा स्वास्थ्य संस्था राख्न सम्भव नहुने उनले बताए ।
नेपालको संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन् । त्यस्तै धारा (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार