नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी दार्चुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीप्रति कडा आपत्ति जनाएको छ।
एमाले दार्चुलाले उक्त गिरफ्तारीलाई प्रतिशोधपूर्ण, पूर्वाग्राही र गैरकानुनी भन्दै घोर निन्दा र भर्त्सना गरेको छ। ज्ञापनपत्रमा यस्तो कदमले लोकतान्त्रिक मूल्य मान्यता, विधिको शासन तथा राजनीतिक संस्कृतिमा गम्भीर आघात पुगेको उल्लेख गरिएको छ।


पार्टीले बालबालिकालाई जबर्जस्ती आन्दोलनमा उतार्ने, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने, प्रहरीमाथि आक्रमण गर्ने लगायतका घटनामा संलग्न सबै पक्षमाथि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ।
त्यस्तै, २०८२ भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति एमालेले असहमति जनाउँदै उक्त आयोगको प्रतिवेदन पूर्वाग्राही र न्यायिक सिद्धान्तविपरीत रहेको आरोप लगाएको छ। सर्वोच्च अदालतले समेत उक्त आयोगमाथि प्रश्न उठाएको भन्दै एमालेले बहालवाला न्यायाधीशको अध्यक्षतामा नयाँ उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।
एमाले दार्चुलाले कार्की आयोगको प्रतिवेदन तत्काल खारेज गर्न, मन्त्रीपरिषद्को निर्णय फिर्ता लिन तथा सम्पूर्ण घटनाको स्वतन्त्र र व्यापक छानबिन गर्न नेपाल सरकारसँग माग गरेको छ। साथै, शक्ति र सत्ताको दुरुपयोग गरी समाजमा द्वन्द्व सिर्जना गर्ने गतिविधि अस्वीकार्य हुने जनाएको छ।
ज्ञापनपत्रमा गैरकानुनी रूपमा पक्राउ गरिएका केपी शर्मा ओली र रमेश लेखकलाई अविलम्ब रिहा गर्न सरकारसँग जोडदार माग गरिएको छ। देशलाई शान्ति, स्थायित्व र विकासको मार्गमा अघि बढाउन सरकार जिम्मेवार बन्नुपर्नेमा एमालेले जोड दिएको छ।
उक्त ज्ञापनपत्र एमाले दार्चुलाका सचिव उमेश राज जोशीमार्फत बुझाइएको हो।







