अपिहिमालमा बाँस तथा निगालो हस्तकला तालिमले जगायो उद्यमशीलताको आशा

दार्चुला — दुर्गम पहाडी क्षेत्रका स्थानीयलाई स्थानीय स्रोत–साधनमै आधारित उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले अपिहिमाल गाउँपालिकामा सञ्चालन गरिएको बाँस तथा निगालो हस्तकला सामग्री निर्माणसम्बन्धी एक महिने सीपमूलक तालिम सकिएको छ । गाउँपालिकाको आयोजनामा नवउद्यमी लक्षित ३० दिने तालिम सकिएको हो ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सम्भाव्य उद्यमीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिमले सहभागीहरूमा आत्मनिर्भर बन्ने उत्साह थपेको स्थानीय तहको विश्वास छ ।
अपिहिमाल गाउँपालिकामा सहज रूपमा उपलब्ध हुने निगालोलाई आयआर्जनको माध्यम बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए । उनका अनुसार गाउँमै पाइने प्राकृतिक स्रोतको उपयोग गरी स्थानीयलाई स्वरोजगारतर्फ उन्मुख गराउनु नै तालिमको प्रमुख उद्देश्य हो ।
‘स्थानीय स्रोतको प्रयोगबाट गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विश्वासका साथ तालिम सञ्चालन गरिएको हो,’ अध्यक्ष बोहराले भने । यो तालिममार्फत बास तथा निङ्गालोबाट मुढा, सुज¥याक, टेबल, ऐना, हेन्गर लगायतका सामाग्री निर्माण गरिएका छन् ।
तालिममा ५ जना महिला र ४ जना पुरुष गरी जम्मा ९ जनाको सहभागिता रहेको गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख धर्मानन्द भट्टले जानकारी दिए ।
सहभागीहरूले तालिमपछि आफ्नै गाउँमै सानो उद्यम सुरु गर्ने योजना बनाएको बताएका छन् । तालिमबाट उत्पादन भएका सामग्रीलाई बजारसम्म पु¥याउन गाउँपालिकाले सहजीकरण गर्ने तयारी गरेको उद्यम विकास शाखाले जनाएको छ ।
स्थानीय स्तरमै उपलब्ध स्रोत–साधनको उपयोग गर्दै उद्यम सञ्चालन गर्न सके आर्थिकरुपमा समेत सम्पन्न गराउन सकिने विश्वास गाउँपालिकाको छ ।

सम्बन्धित समाचार

ताजा समाचार