दार्चुला । अपिहिमाल गाउँपालिकामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको तयारी भएको छ । एकएक पाइला फाउण्डेसन र अपिहिमाल गाउँपालिकाको सहकार्य तथा समन्वयमा उक्त शिविर सञ्चालन हुने भएको हो ।
आगामी चैत १७ गतेदेखि १९ गतेसम्म तीन दिनसम्म खण्डेश्वरी मावि क्षत्तिमा स्वास्थ्य शिविर सञ्चालन हुने अपिहिमाल गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिह धामीले जानकारी दिए । योपटक अप्रेशनसहितको स्वास्थ्य शिविरको आयोजना गरिएको उनले बताए ।
शिविरमा आँखाको मोतियाबिन्दु शैल्यक्रिया,जेनरेल मेडिसिन सेवा, छालारोग सेवा, दाँत तथा कानसम्बन्धी उपचारका साथै साना (माइनर) शल्यक्रिया, नाक, कान, घाटी सेवा, स्त्री तथा प्रसुतिरोग सेवा, हाडर्जाेनी सेवा, बालरोग सेवा, प्याथालोजी सेवा, रेडियोलोजी सेवा लगायतका सेवा प्रदान गरिने छ । शिविरको लागि झण्डै ४० बढि स्वास्थ्यकर्मीको टोली अपिहिमाल आउँदैछन् ।

आर्थिक अभावका कारण बाहिर गएर उपचार गर्न नसक्नेहरुको लागि गाउँमै विशेषज्ञ चिकित्ससहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिए । शिविरमा छिमेकी पालिका तथा जिल्लावासीलाई समेत सहभागी हुन आमन्त्रण गरिने उनले बताए ।
स्वास्थ्य शिविर व्यवस्थापनको समग्र जिम्मेवारी स्वास्थ्य शाखालाई दिइएको छ । शिविरमा जनशक्ति परिचालन यातायात व्यवस्थापनको जिम्मा स्वास्थ्य शाखाले गर्ने छ । यस्तै आवास खाद्यान्नको व्यवस्थापनको लागि पर्यटन इकाइ र विपद् शाखालाई जिम्मेवारी दिइएको छ ।
यसअघि पनि सामान्य शिविर आयोजना हुँदै आएकोमा योपटक शल्यक्रियासहितको स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।








