कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरिदिनुहुन प्रधानमन्त्रीसमक्ष अनुरोध गरेकी छिन् । सुनसरीको इटहरी–२०, तरहराका संजय खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारलाई सम्बोधन गर्दै पत्रमार्फत उक्त माग गरेका हुन् ।
लामो समयसम्म प्रतिवेदन सार्वजनिक नभएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसले विभिन्न किसिमका आशंका र अन्योल सिर्जना गरेका छन् । पत्रमा विशेषगरी बिबिसीले सार्वजनिक गरेको सामग्रीप्रति पनि प्रश्न उठाइएको छ । खड्काले उक्त सामग्रीलाई निष्पक्ष डकुमेन्ट्री नभई एकतर्फी प्रस्तुति भएको उल्लेख गर्दै आयोगले समयमै प्रतिवेदन सार्वजनिक गरेको भए यस्तो अवस्था नआउने धारणा व्यक्त गरे ।
“हाम्रो संवैधानिक आयोग, सरकार र संविधानभन्दा माथि रहेको जस्तो प्रभाव पार्दै बिबिसीले सामग्री सार्वजनिक गर्दा प्रतिवेदन सार्वजनिक गर्ने जिम्मेवारी बोकेको कार्की आयोग निष्क्रिय देखिनु दुःखद रह्यो । त्यस अवस्थामा हामी आवाज हुँदाहुँदै पनि आवाजविहीन बनेका थियौं,” पत्रमा उल्लेख गरिएको छ ।
“आयोगले समयमै कार्य सम्पन्न गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाएको भए बाह्य हस्तक्षेपको आशंका समेत उत्पन्न हुने थिएन,” उनले भने ।
प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ हुनु सरकारको कमजोरी भएको स्वीकार गर्नुपर्ने उल्लेख गर्दै उनले यसले जनतामा निराशा बढाएको धारणा राखेका छन् । साथै, जेन्जी आन्दोलनपश्चात् गठन भएको सरकारले प्रतिवेदन तयार गराए पनि हालसम्म सार्वजनिक नगर्नु विडम्बनापूर्ण रहेको टिप्पणी गरिएको छ ।
खड्काले प्रतिवेदन सार्वजनिक गराउन फेरि सडक आन्दोलनको आवश्यकता नपरोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् । “जेन्जीले आफैं बनाएको सरकारलाई प्रतिवेदन सार्वजनिक गर भनेर फेरि जेन्जी सडकमा आउनुपर्ने ? फेरि रगत बगाउनु पर्ने ? यो भन्दा दुखको कुरा अरु के हुन सक्छ प्रधानमन्त्री ज्यू ?” उनले पत्रमा भनेका छन् ।
पत्रसँगै प्रतिवेदनलाई अझ प्रभावकारी, व्यवहारिक तथा जनमुखी बनाउन सहयोग पुग्ने उद्देश्यले प्रश्नावलीसमेत संलग्न गरिएको जानकारी गराइएको छ । अन्त्यमा, शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दै प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरी त्यसको प्रभावकारी कार्यान्वयनतर्फ आवश्यक पहल गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ उनले भने ।
यस्ताे छ प्रधानमन्त्रीलाइ लेखेकाे पत्र

मितिः २०८२/१२/० ८
श्री सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरबार, काठमाडौं ।
विषय: कार्की आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा ।
महोदय,
उपरोक्त विषयमा, कार्की आयोगद्वारा तयार गरिएको प्रतिवेदन राष्ट्र र जनताको चासो, पारदर्शिता तथा सुशासनका दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको हुँदा सो प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।
कार्की आयोगले म्याद लम्ब्याउँदै लम्ब्याउँदै आफ्नो समयसीमामा प्रतिवेदन बुझाउन नसकेको सर्वविदितै छ । यहि हाम्रो कमजोरीमा टेकेर विदेशीले विभिन्न चलखेल गर्ने प्रयत्न गरे । बिबिसिले डकुमेन्ट्रीको नाममा सार्वजनिक गरेको उक्त एक पक्षिय भिडियो पनि हाम्रै कमजोरीको कारण हो । हाम्रो नेपालको संवैधानिक आयोग, सरकार र संविधान भन्दा पनि माथिको परमादेश झैं गरेर बिबिसिले उक्त भिडियो सार्वजनिक गर्दा प्रतिवेदन सार्वजनिक गर्ने जिम्मेवारी पाएको कार्की आयोग निरिह बन्दा हामी पनि निशब्द भएका थियौं, आवाज भएर पनि आवाजविहिन भएका थियौं ।
यदि कार्की आयोगले समयमै प्रतिवेदन बुझाएको भए, दोषीमाथि कारवाही गरेको भए विदेशीले चलखेल गर्ने प्रयत्न गर्ने नै थिएनन् । बिबिसिले एकतर्फि भिडियो निकाल्ने आँट गर्ने नै थिएन, बरु बाध्य भएर २३ र २४ दुवै समेटेर भिडियो होइन, डकुमेन्ट्री बनाउन सक्थ्यो । उक्त डकुमेन्ट्रीलाई नेपालीले पनि स्वागत गर्थे । हामीले गर्छौं भनेको काम नगरेपछि कुरा काट्ने बाटो त निश्चित रुपमा खुल्छ नै । कार्की आयोगले प्रतिवेदनमार्फत बोल्नुपर्ने समयमा नबोलेपछि अरु बोल्न थाल्नु, विदेशीको चलखेल हुन थाल्नु त स्वभाविक नै हो ।
यद्यपि हामीले मनन् गर्नुपर्ने कुरा चाहिँ के हो भने यसमा दोष अरुको वा विदेशीको होइन, हाम्रै हो । गर्छु भनेको काम नगरेपछि, बारम्बार समय सीमा नाघेपछि हुने त यहि नै हो ।
जेन्जी आन्दोलन पश्चात् प्रतिवेदन तयार गर्नका लागि बनाइएको सरकारले लामो समय अल्झायो, ढिलै भएता पनि सरकारलाई कार्की आयोगले प्रतिवेदन बुझायो तर विडम्बना उक्त प्रतिवेदन सार्वजनिक हुन सकेन । जेन्जीले आफैं बनाएको सरकारलाई प्रतिवेदन सार्वजनिक गर भनेर फेरि जेन्जी सडकमा आउनुपर्ने ? फेरि रगत बगाउनु पर्ने ? यो भन्दा दुखको कुरा अरु के हुन सक्छ प्रधानमन्त्री ज्यू ?
प्रतिवेदनलाई अझ प्रभावकारी, व्यवहारिक तथा जनमुखी बनाउन सहयोग पुगोस् तथा सार्वजनिक गर्न सहज होस् भन्ने उद्देश्यले यसैसाथ एक प्रश्नावली समेत संलग्न गरी पठाएको व्यहोरा समेत यहाँ अवगत गराउन चाहन्छु। सामान्य मानिसले बुझ्नेगरी, मानिसको मानसपटलले बुझ्न सजिलो होस् भन्ने हेतुले खाली ठाउँ भर्दाखेरि नेपालीमनले खोजेको प्रतिवेदन तयार हुने तथा जेन्जीले खोजेको उत्तर पाउने मैले विश्वास लिएको छु ।
अन्त्यमा, शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गरी लोकतन्त्र बचाउनु भएकोमा प्रधानमन्त्रीज्यूलाई मुरीमुरी धन्यवाद ज्ञापन गर्दै कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी त्यसको प्रभावकारी कार्यान्वयनतर्फ आवश्यक पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
भवदीय,
संजय खड्का
इटहरी २०, तरहरा
सुनसरी, कोशी प्रदेश ।






