जिल्लाको दुई मतदान केन्द्रमा मताधिकार भएका स्थानीयले निर्वाचन नै बहिष्कार गरेका छन् । यहाँको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् ।
स्थानीयको बहिष्कारका कारण प्रत्यक्षतर्फको मतपेटिका रित्तै बोकेर कर्मचारीहरू सदरमुकाम फर्किँदैछन् । दुवै मतदान केन्द्रका अस्थायी मतदाता ९कर्मचारी०ले मात्रै समानुपातिकतर्फ मतदान गरे ।

गौरीशंकर मावि नागुका सहायक मतदान अधिकृत देवसिंह फर्सवानका अनुसार समानुपातिकतर्फ ९ मत खसेको छ । बाटो अप्ठ्यारो भएका कारण शुक्रबार मात्रै सदरमुकाम खलंगा फर्किने उनको भनाइ छ । यस मतदान केन्द्रमा ६०२ जना मतदाता थिए ।
उता अपिहिमाल गाउँपालिकामा रहेको दुधिला आधारभूत विद्यालयमा समानुपातिकतर्फ ८ मत खेको छ । स्थानीयले बहिष्कार गरेका कारण कर्मचारीले हालेको समानुपातिकतर्फको मात्रै मत लिएर सदरमुकाम फर्किएको मतदान अधिकृत प्रेमराज अवस्थीले जानकारी दिए ।






