दार्चुला — दार्चुला जिल्लामा सम्पन्न मतदानमा कुल ४९ हजार ९६८ मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये पुरुष २३ हजार ३३७ र महिला २६ हजार ६३१ मतदाता रहेका छन्।
जिल्लाभर सञ्चालन भएका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उत्साहजनक सहभागिता देखिएको थियो। दिनभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन अधिकारीहरूले बताएका छन्।

जिल्लामा कुल मतदातामध्ये ५३।७६ प्रतिशत मत खसेको तथ्यांक सार्वजनिक गरिएको छ। ग्रामीण भेगका केही मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाम देखिएको थियो भने सदरमुकाम खलंगासहित अन्य स्थानमा पनि मतदाताले उत्साहपूर्वक मतदान गरेका थिए।
निर्वाचन सम्पन्न भएपछि अब मतपेटिका सुरक्षित रूपमा संकलन गरी तोकिएको स्थानमा राखिएको र छिट्टै मतगणना सुरु गर्ने तयारी भइरहेको सम्बन्धित निकायले जनाएको छ।






