दार्चुलाका दुई मतदान केन्द्रका मतदाता ‘नो’ भोटका पक्षमा

दार्चुला । दार्चुलाका दुई मतदान केन्द्रका मतदाताले बिहीबार हुने मतदानमा सहभागि नहुने निर्णय गरेका छन् । नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय झुस्कुका मतदाताले मतदान नगर्ने निर्णय गरेका हुन् ।
नागुबासीलाई अन्तिम सयममा सुदुरपश्चिम प्रदेश सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल नागु पुगेर छलफल गरे पनि मतदाता मत हाल्न तयार भएनन् । नागु विकास संघर्ष समितिसँग छलफल गर्न धनगढीबाट नेपाली सेनाको हेलिकप्टर चढेर अर्याल बुधबार दिउँसो नागु पुगेका थिए ।
माघ १ गतेबाटै संघर्ष समिति बनाएर नो भोटका पक्षमा उभिएका नागुबासीले योपटकको निर्वाचनमा मतदान नगर्ने निर्णय यथावत राखेको संघर्ष समितिका संयोजक करनसिह डडालले जानकारी दिए । ‘प्रदेश सरकारको उपस्थिति ढिला गरी भयो,’ उनले भने ‘आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिए पनि जनताले पत्याउने अवस्था थिएन् ।’ प्रदेश सरकारको तर्फबाट आएको प्रस्ताव ढिलो गरी आएको कारण जनतासँग छलफल गर्न पनि समय नभएको उनको भनाई छ ।
यसअघि नागुवासीलाई फकाउन माघ २४ गने प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्को टोली पुगेको थियो ।
निर्वाचन गराउन नागु पुगेको मतदान अधिकृत चन्द्रसिंह खातीले सर्वदलीय बैठकमा दलको प्रतिनिधि नआए पनि स्थानीयको सहभागितामा निर्वाचनको तयारी थालिएको थियो । बैठकमा सहभागिहरुले कोही व्यक्ति मतदान गर्न आए अवरोध नगर्ने सहमति गरेका छन् । तर जनता एकजुट भएका कारण मतदानमा सहभागि हुने अवस्था भने छैन् । नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा ६०२ मतदाता रहेका छन् ।
यस्तै अपिहिमाल गाउँपालिका–३ का केही बस्तीका बासिन्दाले फागुन १५ गतेबाट नो भोट अभियान चलाएका छन् । ०७४ सालमा भएको वडा विभाजनले वडा नम्बर ३ का अधिकांश वस्तीलाई अपायक ठाउँमा वडा कार्यालय रहेको भन्दै वडा विभाजन नभएसम्म मतदान नगर्ने निर्णय गरेको स्थानीय कमलसिह रोकायाले जानकारी दिए ।
वडा विभाजनको मागसहित नो भोट अभियानमा उत्रिएका अपिहिमाल गाउँपालिका वडा नम्बर ३ अन्तर्गत दुधिला आधारभूत विद्यालयमा मतदान गर्ने मतदाताको पुन मतदान अधिकृत लगायतको उपस्थितिमा भएको बैठकमा समेत मतदान नगर्ने निर्णय गरिएको उनले बताए । यो मतदान केन्द्र अन्तर्गत झुस्कु, चौड, छविस, भट्टार गाउँका मतदाताले भोट नहाल्ने निर्णय दोहो¥याएका हुन् । यो मतदान केन्द्रमा ३४६ जना मतदाता रहेका छन् । र्

सम्बन्धित समाचार

ताजा समाचार