दार्चुला प्रहरीले भन्यो : ‘शान्ति सुरक्षा दिन प्रहरी तयार’

दार्चुला । आसन्न प्रतिनिधिसभा निर्वाचन आउन एक साता बाँकी रहँदा दार्चुला प्रहरीले निर्वाचन सुरक्षाको पूर्ण तयारी गरेको जनाएको छ । निर्वाचन तयारी तथा जिल्लाको शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले सुरक्षा रणनीति तयार भइसकेको जनाएको हो ।


प्रहरी निरीक्षक गौरब महतका अनुसार प्रहरीले हाल निर्वाचन सुरक्षा र समग्र शान्ति–सुरक्षामा विशेष ध्यान केन्द्रित गरेको बताए । जिल्लाका ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तथा अस्थायी मतदान केन्द्रको सुरक्षाका लागि विस्तृत योजना बनाइएको उनले बताए ।
‘निर्वाचन सुरक्षार्थ नियमित तथा संयुक्त सुरक्षा गस्ती, मोबाइल टोली परिचालन भइरहेको छ,’ डीएसपी महतले भने, ‘शान्ति–सुरक्षामा कुनै कमी हुन नदिन हामी सक्रिय छौं ।’ उनका अनुसार जिल्लामा जनशक्ति अभाव हुन नदिन प्रदेश प्रहरी कार्यालयबाट थप बल झिकाएर स्थानीय तहमा प्रहरी निरीक्षकको कमाण्डमा परिचालन गरिएको छ ।


प्रहरीले निर्वाचनपूर्व सुरक्षा, मतदान दिनको सुरक्षा र मतपरिणाम सार्वजनिक नहुँदासम्मको सुरक्षालाई लक्षित गर्दै समग्र रणनीति बनाएको जनाएको छ । धेरै मतदान केन्द्रमा प्रहरी उपस्थिति भइसकेको भन्दै उनले थप जनशक्ति मतपत्रसँगै परिचालन गरिने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टले रिजर्भ फोर्स तयारी, पेट्रोलिङ गस्ती र नियमित चेकजाँचलाई थप सशक्त बनाइएको जानकारी दिए । ‘भयरहित वातावरणमा निर्वाचन गराउन प्रहरीले विशेष ध्यान दिएको छ,’ उनले भने ।

सम्बन्धित समाचार

ताजा समाचार