दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानपछि मतपेटिका हेलिकप्टरमार्फत ल्याउने गरि गृहकार्य थालिएको छ । दार्चुलाका दुर्गम क्षेत्रका मतपेटिकाहरू हेलिकाेप्टर मार्फत ढुवानी गर्ने गरि तयारी थालिएको हाे ।
दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी हुने भएको छ ।
व्यास गाउँपालिका वडा नम्बर २ मा रहेका शिरसिन्धार आधारभूत विद्यालय बोधगाउँ, सर्वहित आधारभूत विद्यालय दुम्लिङ तथा रानीस्थान आधारभूत विद्यालय मालको मतपेटिका हेलिकप्टरबाट ल्याउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनाेद दाहालले जानकारी दिए । यस्तै अपि हिमाल गाउँपालिका वडा नमवर ३ काे हिमालय आधारभूत विद्यालय पाथा, वडा नम्बर २ काे भवानी आधारभूत विद्यालय सिती, अपि हिमाल गाउँपालिका-४ काे खण्डेश्वरी माध्यमिक विद्यालय क्षत्ति र वडा नम्बर ६ काे महिला सामुदायिक भवन सितोलाको मतपेटिकाबाट ल्याउने निर्णय गरिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा मतपत्र ढुवानी, आचारसंहिता पालना सम्बन्धी राजनीतिक दलहरूसँग भएको बैठकमा उक्त निर्णय गरिएको छ ।
यहाँका सात वटा मतदान केन्द्रको मतपेटिका हेलिकाेप्टर मार्फत ढुवानीका लागि गृह मन्त्रालयमा लेखी पठाइएको तथा सानो हेलिकाेप्टर प्राप्त हुने जानकारी प्राप्त भएको भन्दै उहाँले मतपेटीका र मतदान अधिकृतलाई हेलिकाेप्टर मार्फत ल्याउने विषयमा बैठकमा पार्टीको प्रतिनिधिहरूले समेत सहमति जनाए ।

निर्वाचनमा मतदातालाई शान्तिपूर्ण रूपमा गर्ने वातावरण मिलाउन दार्चुलाका राजनीतिक दलका नेताहरूले प्रतिबद्धता जनाएका छन् ।
मतदानको दिन सबै राजनीतिक दलका तोकिएका आधिकारिक प्रतिनिधिहरूले मतदान केन्द्रमा सहयोग गर्ने र मतदान प्रक्रियालाई बाधा पुग्ने गरी प्रचारप्रसार नगर्ने, तथा मतदान अधिकृत र सुरक्षाकर्मीलाई पूर्णरूपमा सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन्।
मतदानको दिन मतदान केन्द्रमा कुनै विवाद वा असहमति उत्पन्न भएमा, त्यसलाई तत्कालै सम्बन्धित मतदान अधिकृत र उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूबिचको आपसी छलफल र सहमतिमा समाधान गर्ने, मतदान कार्यलाई कुनै पनि बहानामा स्थगित हुन नदिन र कानुनी प्रक्रिया भित्र रहेर समस्या सुल्झाउन सबै पक्ष सहमत रहने निर्णय गरिएको उनले बताए ।
बैठकमा नेकपा एमालेका उमेशराज जोशी, नेपाली कांग्रेसका पुलेन्द्रबहादुर कार्की, राप्रपाका देवबहादुर बम, रास्वपाबाट परमानन्द बडू, नेपाली कम्युनिस्ट पार्टीका गणेशसिंह खत्री र नेपाल कम्युनिस्ट पार्टी संयुक्तका शेखरचन्द्र बडू सहभागी थिए।
एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा ११ दलका उम्मेदवारले उम्मेदवारी दिएका छन्।
यस्तै मतदान केन्द्रमा पठाउन मतपत्र तथा निर्वाचन सामाग्री मिलाउने काम भइरहेकाे सहायक निर्वाचन अधिकारी विष्णुप्रसाद अवस्थीले बताए ।






