दार्चुला । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई दुहुँ गाउँपालिका वडा नम्बर ३ ले नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ। वडाले एक सूचना जारी गर्दै पुरस्कार घोषणा गरेको हाे ।
वडा अध्यक्ष देवबहादुर बमका अनुसार २०८२ सालको एसइई परीक्षामा सहभागी भई अंग्रेजी, गणित र विज्ञान विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरिनेछ।
घोषणाअनुसार ३.२ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई ५ हजार रुपैयाँ, ३.६ जीपीए ल्याउनेलाई २० हजार रुपैयाँ तथा ३.६ जीपीएभन्दा माथि जीपीए हासिल गर्ने विद्यार्थीलाई ४० हजार रुपैयाँ नगद प्रदान गरिनेछ।
वडा नम्बर ३ ले विगत वर्षदेखि नै शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको छ। यस वडाअन्तर्गत श्री जनविकास माध्यमिक विद्यालय बारबाज र श्री गणेश माध्यमिक विद्यालय सिमली रहेका छन्।

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सुरु हुँदैछ।







