भारतीय अतिक्रमण परेको कालापानीनजिकका छाङरु र तिंकरका मतदाताका लागि यसपटक प्रतिनिधिसभा निर्वाचन सहज बनेको छ । व्याँस गाउँपालिका–१ अन्तर्गत पर्ने यी दुर्गम गाउँका स्थानीयले खलंगामै मतदान गर्न पाउने भएपछि सहज भएको छ ।
छाङरु र तिंकरका स्थानीयको जीवनशैली मौसमी बसाइँसराइसँग गाँसिएको छ । वर्षको छ महिना गाउँमै (छाङरु तिंकर) र बाँकी छ महिना सदरमुकाम खलंगामा बसोबास गर्ने परम्परा उनीहरुको छ । उनीहरुको भाषामा बसाइसराई गर्नुलाई (कुञ्चा) सर्नु भनिन्छ ।
मंसिर लागेसँगै तिंकर गाउँ पूर्ण रूपमा सुनसान छ । अत्यधिक हिमपातका कारण स्थानीय मात्र होइन, तिंकरस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) समेत छाङरु झरेका छन् । तिंकर चीनसँग सीमा जोडिएको अन्तिम गाउँ हो । यहाँबाट नेपाल–चीन एक नम्बर सीमा स्तम्भ पर्दछ ।
छाङरुमा भने केही परिवारको बसोबास अझै छ । वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिंह बोहराका अनुसार गाउँको रेखदेखका लागि राइसिंह ऐतवाललाई चौकिदारको जिम्मेवारी दिइएको छ । चोरी–तस्करी जस्ता घटना नहोउन् भनेर वडाले उनलाई छ महिनासम्म मासिक १५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराएर राखेको छ ।
यस्तै हाल छाङरुमा सौर्य ऊर्जाका अपरेटर प्रल्हाद ऐतवाल, द्रोपति बोहरा र दौलत बोहराको परिवार बसोबास छ । सशस्त्र प्रहरी बलको नम्बर ५० गुल्म र नेपाल प्रहरीको टोली पनि छाङरुमै छन् । भारतसँग सीमा जोडिएको यो गाउँ कालापानीभन्दा करिब १० किलोमिटर तल पर्छ । यस क्षेत्रका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोललाई नेपाल सरकारले २०७७ जेठ ७ गते नेपालको नक्सामा समेटेको थियो । यही क्षेत्रमा बसोबास गर्ने नावी, गुञ्जी र कुटी नागरिक भने अहिले पनि भारतमै निर्वाचनमा सहभागि हुन्छन् ।
यसअघि २०७९ सालको स्थानीय तह निर्वाचन छाङरु र तिंकरकै मतदान केन्द्रमा सम्पन्न भएको थियो । वैशाख–जेठतिर हुने निर्वाचनहरू प्राय ः माथि गाउँमै हुने गरेको अध्यक्ष बोहरा बताउँछन् । तर यसपटक मंसिरमै स्थानीय खलंगा झरेका कारण मतदान केन्द्र खलंगामै राख्न माघ ५ गते माग गरिएको थियो । वडाअध्यक्ष बोहरा खलंगामै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागिता बढने सुनाउँछन् ।
स्थानीयको बसाइँसराइ भइसकेको अवस्थामा विगतको जस्तै खलंगामै मतदान केन्द्र कायम भएको सहायक निर्वाचन अधिकृत विष्णुप्रसा अवस्थीले जानकारी दिए । निर्वाचन आयोगले निर्णय गरेर पठाएको छ, उनले भने, अब दुवै वस्तीको निर्वाचन खलंगाकै केन्द्रमा हुनछन् ।
उनका अनुसार व्याँस गाउँपालिका–१ मा दुई वटा मतदान केन्द्र कायम छन् । छाङरु र तिंकरकै नामका विद्यालय खलंगामा भएको हुँदा सोहीअनुसार मतदान केन्द्र निर्धारण गरिएको छ । अवस्थीले दिएको जानकारी अनुसार छाङरुका लागि कैलाशपति आधारभूत विद्यालयमा ३७५ जना र तिंकरका लागि मोति महिला संघ आधारभूत विद्यालयमा २४४ जना मतदाता छन् । २०७९ सालको निर्वाचनमा छाङरुमा ३८३ र तिंकरमा २३४ जना मतदाता थिए ।
यसैगरी जिल्लाभर यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार ११२ मतदान स्थलमध्ये १५ वटा अतिसम्बेदनशील, ३२ वटा सम्बेदनशील र ६५ वटा सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ ।
अघिल्लो निर्वाचनको अनुभव, भौगोलिक विकटता र सुरक्षा निकायको पहुँचलाई आधार मानेर वर्गीकरण गरिएको उनको भनाइ छ । सडक नपुगेका क्षेत्र पनि सम्वेदनशील क्षेत्र मानेका छौ । दर्जनबढि मतदानस्थलको स्थलगत निरीक्षण गरेर फर्किएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
२०७९ सालमा ९० हजार ७८२ मतदाता रहेकामा यसपटकको प्रतिनिधिसभा निर्वाचनको लागि २ हजार १६६ मतदाता थपिएर संख्या ९२ हजार ९४८ पुगेको छ । तीमध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन् ।


छाङरु र तिंकरका मतदाताको खलंगाबाटै मतदान




