दार्चुलामा प्रतिनिधिसभा निर्वाचन : सबै दलले उम्मेदवार टुङ्ग्याए, आज मनोनयन दर्ता

दार्चुला — प्रतिनिधिसभा निर्वाचनका लागि दार्चुलामा क्रियाशील सबै राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
जिल्लामा छ वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यालयले सूचना जारी गरेको छ । सहायक निर्वाचन अधिर्कत विष्णुप्रसाद अवस्थीका अनुसार बिहान ११ बजे राष्ट्रिय जनमोर्चा पार्टी, १२ बजे नेपाली कम्युनिस्ट पार्टी, १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी, २ बजे नेकपा एमाले। ३ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी, ४ बजे नेपाली काग्रेंस र बिहान १० बजेदेखि बेलुकी ५ बजेको समयमा स्वतन्त्र र अन्य उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्ने गरी समय निर्धारण गरिएको छ ।
कांग्रेसमा नयाँ अनुहार
नेपाली कांग्रेसले यसपटक दार्चुलाबाट पहिलोपटक नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । २०४८ सालदेखि प्राय उम्मेदवार बनेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेसले नयाँ उम्मेदवार छनोट गरेको हो ।
काग्रेंसका बडू २०४८, २०५६, र २०७९ सालको निर्वाचनमा प्रत्यत्र्फ विजयी भएका थिए भने २०७४ सालमा समानुपातिक सांसद बनेर संसद छिरेका थिए । राज्यमन्त्री हुँदै पटकपटक मन्त्री भएका बडूले २०५१, २०६४ र २०७४ सालको निर्वाचन पराजय भोगेका थिए । छपटक निर्वाचन लडेका बडूले योपटक काग्रेस विधान महाधिवेशनमा देखिएको विवादका कारण उम्मेदवार नबन्ने घोषणा पछि नयाँ अनुहारलाई उम्मेदवार बनाएको हो ।
नेपाली कांग्रेसले संयुक्त राष्ट्र संघ (युएन) मा कार्यरत शैल्यशिखर नगरपालिका–८ का धर्मानन्द जोशीलाई पहिलोपटक उम्मेदवार बनाएको छ । कांग्रेस दार्चुलाका लागि जोशी नयाँ अनुहार हुन् । उम्मेदवार सिफारिसमा जोशीसँगै कांग्रेस दार्चुलाका पूर्व सचिव हरकसिंह विष्ट र मालिकार्जुन गाउँपालिकाका निर्वतमान अध्यक्ष नरेन्द्रसिंह धामी, महाधिवेशन प्रतिनिधि गणेशराज भट्टको नाम पनि सिफारिस गरिएको थियो ।
तर कतिपय काग्रेंसका नेता कार्यकर्ताले जोशीले उम्मेदवार टिकट पाएपछि पर्यटक नेता भन्दै आलोचना गरेका छन् ।

एमालेमा ठगुन्नाको निरन्तरता
नेकपा एमालेले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमाले दार्चुलाले ठगुन्नाको एकल नाम सिफारिस गरेको थियो ।
२०६४ सालदेखि संसदीय राजनीतिमा प्रत्यक्ष उम्मेदवार बनेका ठगुन्ना २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए । भने २०६४ को पहिलो संविधानसभा निर्वाचन २०७९ सालको निर्वाचनमा भने उनी पराजित भएका थिए । ठगुन्नालाई अहिले नेकपा एमालेले सुदूरपश्चिम प्रदेश निर्वाचन संयोजक बनाएर पठाएको छ ।

अठार वर्षपछि नेकपामा जोशीको कम्ब्याक
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दार्चुलाले २०६४ सालका संविधानसभामा सदस्यमा लक्ष्मणदत्त जोशीलाई पुन उम्मेदवार बनाएको छ । पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएपछि दोस्रोपटक उम्मेदवार बन्ने अवसर नपाएका जोशीले अठार वर्षपछि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार सिफारिस भएका हुन् ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका जोशी महाकाली नगरपालिका–५ का बासिन्दा हुन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले ललितसिह ठगुन्ना प्रविणलाई उम्मेदवार बनाएको थियो । यस्तै २०७४ सालमा नेकपा एमाले र २०७९ सालमा नेपाली काग्रेंस सँग गठबन्धन भएका कारण नेकपा माओवादीले केन्द्रीय उम्मेदवार पाएको थिएन् । दार्चुलामा नेकपा माओवादीले हालको नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्हमा नौ वर्षपछि भोट हाल्न पाउने भएका छन् ।

शिक्षक बाट राजनीतिमा रावस्पा उम्मेदवार बने सामन्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दार्चुलाबाट प्रत्यक्षतर्फ राजेशसिंह सामन्तलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघबाट राजनीतिमा प्रवेश गरेका सामन्त शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष तथा राष्ट्रिय मावि दत्तुका प्रधानाध्यापक थिए ।
स्वास्थ्यका कारण शिक्षण पेशाबाट राजीनामा दिएका सामन्त करिब दुई महिना अघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका थिए । रास्वपमा जोडिएपछि उनलाई जिल्ला सभापति बनाएको छ । एक महिना संगठन विस्तार अभियान चलाएका सामन्तलाई रास्वपाले प्रतिनिधिसभा उम्मेदवार बनाएको हो ।


रा
प्रपामा पूर्व कर्नेल चन्द उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लेकम गाउँपालिका–३ घर भएका नेपाली सेनाका सेवानिवृत्त महासेनानी (कर्नेल) राजेश चन्दलाई उम्मेदवार बनाएको छ । राप्रपा दार्चुलाले जिल्लाबाट अन्य उम्मेदवार सिफारिस गरी पठाएकोमा केन्द्रले चन्दलाई उम्मेदवार बनाइ पठाएको हो ।
यसपटक पहिलोपटक संसदीय निर्वाचनमा भाग लिन लागेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दार्चुला जिल्ला इन्चार्ज नवराज भट्टलाई उम्मेदवार बनाएको छ । मार्मा गाउँपालिका–३ निवासी भट्ट युवा पुस्ताका प्रतिनिधि हुन् र पेशाले इन्जिनियर हुन् ।
यस्तै, नेकपा संयुक्तले विद्या जोशीलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय जनमोर्चाले बिर्खराज पन्तलाई उम्मेदवारका रूपमा अघि सारेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार