निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। जिल्ला अदालत दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेकाे हाे ।
एक मात्रै निर्वाचन क्षेत्र रहेकाे दार्चुलाको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरे । कार्यालय उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत गिरीले जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए।
यस्तै प्रमुख जिल्ला अधिकारी अनिल पाैडेलले निर्वाचन गराउन चारवटै सुरक्षा निकाय एकसाथ सँगै जाने बताए । सुरक्षामा कुनैपनि कमिकमजाेरी हुन दिइदैन्, उनले भने। प्रमुख जिल्ला अधिकारी पाैडेलका अनुसार अहिलेसम्म सुरक्षा निकायले जिल्लाका १४ वटा मतदान केन्द्रकाे निरीक्षण गरिएको जानकारी दिए ।
जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । जसमा महिला ४५ हजार १९३ र पुरूष ४७ हजार ७५५ मतदाता रहेका छन् ।
निर्वाचनकाे लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले जानकारी दिए ।
धामीका अनुसार ११२ मतदान स्थलमध्ये १५ वटा अतिसम्बेदनशील, ३२ वटा सम्बेदनशील र ६५ वटा सामान्य अवस्थामा छन् ।
जिल्ला अदालतमा एक कार्यक्रमकाबीच जिल्ला स्थित सुरक्षा निकाय, जिल्ला निर्वाचन अधिकृत, राजनीतिक दल, र पत्रकारहरूकाे उपस्थितिमा कार्यालय उद्घाटन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत गिरीका अनुसार माघ ६ गतेदेखि विभिन्न चरणमा निर्वाचनसम्बन्धी काम कारबाही अघि बढाइने छ। जिल्लामा माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता सुरु हुनेछ। सोही दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिने कार्यक्रम रहेको छ। उम्मेदवारी दर्तापछि माघ ६ गते नै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।
कार्यक्रमअनुसार माघ ७ गते उम्मेदवारीमाथि दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ भने माघ ८ गते दाबी–विरोधउपर जाँचबुझ गरी निर्णय गरिनेछ। माघ ९ गते उम्मेदवारको नामावली संशोधनसहित प्रकाशन गरिने आयोगले जनाएको छ।
यस्तै माघ १० गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। उम्मेदवारी फिर्तापछि सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ। माघ ११ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।


दार्चुलामा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना




