दार्चुला – अपिहिमाल गाउँपालिकाका वडा नम्बर २ र ३ जोड्ने चमेलिया नदीमाथि निर्माण गरिएको धनबोरास्थित झोलुङ्गे पुल पहिरोका कारण क्षतिग्रस्त भएको छ । गएराति गएको सुख्खा पहिरोका कारण करिब ३० वर्षअघि निर्माण गरिएको उक्त पुलमा क्षति पुगेको हो ।
अपिहिमाल गाउँपालिका–२ का स्थानीय अंगतसिंह लोथ्यालका अनुसार माथिबाट खसेको ढुंगा–माटो पुलमा ठोक्किँदा पुलको संरचना क्षतिग्रस्त बनेको छ । पहिरोपछि पुल आधा बाङ्गिएको हुँदा आवतजावत पूर्ण रूपमा बन्द भएको छ ।
स्थानीय डब्बलसिंह कार्कीले दिएको जानकारी अनुसार उक्त पुल अपिहिमाल बेसक्याम्प ट्रेकिङमा जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि समेत मुख्य मार्ग हो । यो झोलुङ्गे पुल बन्द भए पछि अर्को बाटो प्रयोग गर्न सकिने अवस्था छैन् । वडा नम्बर १ र २ का स्थानीयवासी गाउँपालिका कार्यालय तथा बैंक सम्म आवतजावत गर्न यही पुल प्रयोग गर्दै आएका छन् ।
काठको झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि दैनिक आवागमनमा समस्या भएको छ । दुई वडाका नागरिकहरूका साथै घोडा–खच्चडमार्फत खाद्यान्न ओसारपसारसमेत यही पुलबाट हुने गरेको थियो । यो पुलमा घोडा खच्चड भेडा बाख्रा लिन सकिने अवस्था नरहेको अपिहिमाल गाउँपालिका–२ का स्थानीय केशबसिह धामी बताउनुहुन्छ ।
धामीका अनुसार झोलुङ्गे पुल चाडो मर्मतसम्भार नहुन हो भने यहाँका दुई वडामा खाद्यान्न आपूर्ति र बिरामीलाई समयमै उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याउन समेत कठिनाइ हुने अवस्था आएको छ ।
स्थानीयवासीले जोखिमपूर्ण अवस्थामा पुगेको पुलको तत्काल मर्मतसम्भार गर्न तथा आवतजावत सुचारु गर्न माग गरेका छन् ।


अपिहिमालका दुई वडा जोड्ने चमेलिया नदीको झोलुङ्गे पुल पहिरोले क्षतिग्रस्त




