दार्चुलाको टिंकर नाका नियमित सञ्चालन नहुँदा व्यापार प्रभावित

दार्चुला — नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको टिंकर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवत–जावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो । पुस्तौंदेखि स्थानीयवासी यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए ।
तर सन् २०२० मा कोभिड–१९ महामारीयता टिंकर नाका नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन । नाका बन्द रहँदा स्थानीय व्यापार ठप्पजस्तै बनेको छ भने रोजगारीका अवसर खुम्चिँदा सीमावर्ती बस्तीका नागरिक फेरि एकपटक राज्यबाट उपेक्षित भएको अनुभूति गर्न थालेका छन् ।
नेपाल–चीन हिमालयन मैत्री समाजका केन्द्रीय सदस्य तथा व्याँस गाउँपालिका–१ का स्थानीय व्यापारी योगेश बोहराले टिंकर नाका नियमित नहुँदा व्यापार व्यवसायमा समस्या भएको बताए । उनका अनुसार यस वर्ष आंशिक रूपमा नाका सुचारु भए पनि १०–१५ दिनमा एकपटक मात्रै खुल्दा नियमित रूपमा सामान ओसारपसार हुन सकेन । ‘धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण यो नाका नियमित सञ्चालनमा आउनु आवश्यक छ,’ बोहराले भने ।
व्यापारी अमितसिह तिंकरी चार वर्षपछि मात्रै टिंकर पुगेर समान रेखदेख गर्न पाएको सुनाउँछन । यो वर्ष थोरै समान ल्याउन पाइयो । चार वर्षको क्षति त्यस्तै भयो । अहिले पनि कम्तीमा यो नाका नियमित सुचारु भएको भए हामीहरुको जीविका चलाउन सहज हुने थियो तिंकरीले भने ।
व्याँस गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष अशोकसिंह बोहराका अनुसार टिंकर क्षेत्र केवल व्यापारिक मार्ग मात्र नभई कैलाश मानसरोवर यात्रासँग जोडिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धरोहर हो । टिंकर र छाङरु क्षेत्रका बासिन्दा परम्परागत रूपमा मानसरोवर क्षेत्रका धार्मिक कर्मकाण्ड, पूजा–आजामा नियमित मानसरोवर जाने गर्थे ।
कैलाश मानसरोवर हिन्दुहरुको प्रमुख आस्थाको केन्द्र हो । ०६० सालसम्म नेपालकै पैदलमार्ग भएर स्थानीय कैलाश मानसरोवर दर्शन गर्न जान्थे । तर कोभिडपछि भने यो नाकाबाट स्थानीयले कैलाश मानसरोवरको जलसमेत ल्याउन पाएका छैनन् । धार्मिक कार्यमा प्रयोग हुने जल ल्याउन समेत बन्देज लाग्दा हामीहरुको पुजापाठमै समस्या हुने अवस्था आएको बोहरा बताउँछन् ।
चीनको ताक्लाकोटमा दार्चुलाका व्यासी सौका समुदायले सञ्चालन गर्दै आएका तीन दर्जनभन्दा बढी पसलसमेत चार वर्षभन्दा बढी समय बन्द रहे । यस वर्ष मात्र पसल खोल्न पाएको व्यापारी तेम्बा लामाले जानकारी दिए । ‘हाम्रो मुख्य व्यापार नै ताक्लाकोटबाट सामान ल्याएर नेपाल र भारतका मेला महोत्सव तथा खलंगामा बिक्री गर्नु हो,’ उनले भने, ‘नाका नियमित नखुल्दा हाम्रो रोजीरोटीमै समस्या आएको छ ।’
सरकारले अध्यागमन कार्यालय राख्ने कुरा अलपत्र परेको छ । भन्सार मात्रै भइ दिएको भए यो नाका नियमित सुचारुमा सहज हुने उनीहरुको विश्वास छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ कात्तिक ८ गतेको मन्त्रीपरिषद बैठकले टिंकरमा अध्यागमन खोल्ने निर्णय गरेको थियो । टिंकरमा अध्यागमन कार्यालय नखुलेको काण राज्यले सीमा क्षेत्रलाई ध्यान दिन नसकेको व्यासीको गुनासो छ छ ।
टिंकर नाका नियमित सञ्चालन नहुँदा उत्पन्न समस्याका विषयमा दार्चुलाका स्थानीय समुदायका प्रतिनिधिहरूले काठमाण्डौंं पुगेर नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा टिंकर नाका नियमित सञ्चालनको व्यवस्था गर्न तथा कैलाश मानसरोवर यात्रामा सहज पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायसँग राजनीतिक र कूटनीतिक पहल गरिदिन आग्रह गरिएको छ ।
उनीहरूले कालापानी क्षेत्रका नागरिकले भोग्दै आएका समस्याका समाधानका लागि अध्यक्ष ओलीको नेतृत्वबाट आवश्यक कूटनीतिक तथा नीतिगत निर्णयको लागि पहल हुने विश्वास व्यक्त गरेका छन् ।
सो अवसरमा व्याँसका जनप्रतिनिधि तथा व्यापारीहरूले अध्यक्ष ओलीलाई कैलाशबाट ल्याइएको मायाको चिनोसमेत हस्तान्तरण गरेका छन् । यो वर्ष कैलाशबाट ल्याइएको विशेष प्रकारको मूर्ति पहिलोपटक नेपालकै बाटो प्रयोग गरी काठमाडौं पु¥याइएको हो ।
अध्यक्ष ओली प्रधानमन्त्री रहँदा व्याँस गाउँपालिका वडा नम्बर–१ र २ जोड्ने घोरेटो बाटो निर्माण गरी सञ्चालनमा ल्याइएको थियो । साढे पाँच करोड रुपैयाँ लागतमा करिब एक दशकदेखि बन्द रहेको दुम्लिङदेखि छाङरुसम्मको पैदल घोरेटो बाटो यस वर्ष पुनः सुचारु भएको हो । उक्त बाटो सञ्चालनमा ल्याउन तत्कालीन प्रधानमन्त्री ओलीले विशेष भूमिका खेलेको भन्दै वडा अध्यक्ष बोहराले धन्यवाद ज्ञापन दिएका थिए ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा व्याँसका जनप्रतिनिधिसँगै नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्ट, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, केन्द्रीय सदस्य कर्ण थापा, निरुदेवी पाललगायत नेताहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार