दार्चुला । दार्चुलामा चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका-७ सेल्प्यास्थित महाकाली करिडोरबाट ९ सय १७ ग्राम लागुऔषध चरेससहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पक्राउ पर्नेमा ३० वर्षीय महेन्द्र सिंह धामी र २८ वर्षीय मधुकर उपाध्याय रहेका छन् । उनीहरु सवार से ७ प ५३९२ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक धामीको साथबाट ९१७ ग्राम चरेस बरामद गरिएको प्रहरीले बताएको छ।
उनीहरूको साथबाट १० हजार भारतीय रुपैयाँ र एक हजार ३५० नेपाली रुपैयाँ नगद समेत बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







