दार्चुलामा विद्यालयबाट घर फर्कने क्रममा ढुङ्गा लागेर गम्भीर घाइते भएकी ११ वर्षीया बालिकाको मृत्यु भएको छ। सोमबार दिउँसो जिल्लाको महाकाली नगरपालिका–७ स्थित लटिनाथ आधारभूत विद्यालय, थालिगाडमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीया पुष्पा थापा विद्यालयबाट घर फर्कने क्रममा बाटोमाथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी थिइन् ।
ढुङ्गा लाग्दा थापाको दुवै खुट्टा भाँचिएको थियो। दायाँ खुट्टा घुँडामुनिबाट छुट्टिएर अलग भएको थियो भने बाँया खुट्टामा पनि गम्भीर चोट लागेको थियो। प्रारम्भिक उपचारपछि उनलाई जिल्ला अस्पताल दार्चुलाबाट थप उपचारका लागि रेफर गरिएको थियो।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थापालाई डडेलधुरा अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा मंगलबार बिहान उहाँको निधन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।


विद्यालयबाट फर्कने क्रममा ढुङ्गा लागेर घाइते भएकी ११ वर्षीया बालिकाको मृत्यु




