जेनजी आन्दोलनमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि दार्चुलाका निजामती कर्मचारीद्वारा सहयोग

दार्चुला : दार्चुलामा कार्यरत निजामती कर्मचारीहरूले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक पूर्वाधार पुनर्निर्माणका लागि संकलन गरेको सहयोग रकम हस्तान्तरण गरेका छन्। कर्मचारीहरूबाट संकलित दुई लाख ६५ हजार पाँच सय रुपैयाँ पुनर्निर्माण कोषमा हस्तान्तरण गरिएको हो।

राष्ट्रको संरचना क्षतिग्रस्त भएको कठिन समयमा दार्चुलाबाट गरिएको सहयोग सकारात्मक कदम भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। उनका अनुसार दार्चुलाबाट संकलित रकमले थोरै भए पनि पुनर्निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । पुनर्निर्माण काेषमा तीन सयभन्दा बढी कर्मचारीले सहयोग प्रदान गरेका छन्।
जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कस्यपले राष्ट्र पुनर्निर्माणका लागि कर्मचारीहरूले देखाएको सक्रियता प्रशंसनीय भएको बताए।

सहयोग हस्तान्तरण कार्यक्रम महाकाली नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको सहभागीता रहेको थियो।

सहयोग संकलनमा महाकाली नगरपालिका, जिल्ला हुलाक कार्यालय, स्वास्थ्य कार्यालय, मालपोत कार्यालय लगायतका कार्यालयले सबैभन्दा बढी योगदान गरेको कार्यक्रममार्फत जानकारी गराइएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार