दार्चुला – दार्चुलामा दुई हजार छ सय बढि मतदाता थपिएका छन् । गत असोज ९ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा सो संख्यामा मतदाता थपिएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले दिएको मंसिर ५ सम्मको अवधिमा नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए ।
सूचना अधिकारी जोशीका अनुसार थपिएका मतदाता मध्ये छ सय ४६ महिला र सात सय ६४ पुरुष गरि एक हजार चार सय १० जनाले कार्यालयमै पुगेर नाम दर्ता गराएका छन् । यस्तै एक हजार एक सय ९८ जनाले राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
यस अवधिमा चार सय १९ जनाले स्थान परिर्वतन गरेका छन् भने ८६ जनाले त्रुटि सच्याउनका लागि कार्यालयमा निवेदन दिएको उनले बताए ।
जिल्ला निर्वाचन कार्यालय, दार्चुलाका अनुसार जिल्लामा यसअघि १८ वर्ष पुरा भएका ९० हजार ७ सय ८२ जना मतदाता रहेका छन् । जसमध्ये पुरुष ४६ हजार ४ सय ३५ जना र महिला ४४ हजार ३ सय ४७ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ।


दार्चुलामा २६ सय मतदाता थपिए




