दार्चुला । स्थापना भएको ४१ वर्षपछि जिल्ला अस्पताल दार्चुलाले पहिलोपटक भव्य तथा तामझामसहित बार्षिकोत्सव मनाएको छ । २०७० सालको बाढीअघि औपचारिक रूपमा मात्र वार्षिकोत्सव मनाइँदै आए पनि यो वर्ष युवा डाक्टर रबिन्द्र भट्टराईको नेतृत्वपछि सार्वजनिक रूपमा कार्यक्रम गरिएको हो ।
अस्पतालका सिनियर अहेव तथा सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार डाक्टर भट्टराईको पहलमा यस वर्ष विशेष तयारीसहित बार्षिकोत्सव मनाइएको हो । ०५३ सालदेखि जिल्ला अस्पतालमै कार्यरत छु, उनले भने, तर यसरी बार्षिकोत्सव मनाइएको थिएन् ।
वार्षिकोत्सवको उद्घाटन गर्दै पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले अस्पताल भवन निर्माण वर्षौंदेखि अधुरै रहनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको बताए । उनले ०७७÷०७८ मा स्वीकृत भवन अझै अपूरो रहेकामा असन्तुष्टि व्यक्त गर्दै लापरबाही गर्ने ठेकेदारमाथि कानुनी कारबाही आवश्यक रहेको बताए । यस्तो ठेकेदार देशले पाउनु नै दुर्भाग्य हो ।
उनका अनुसार भवन निर्माण समयमै सम्पन्न भएको भए अस्पतालमा थप सेवा सुविधा विस्तार सहज हुने थियो । अब सबैले भवन निर्माण नगर्नेमाथि कार्वाहीको लागि दबाब सिर्जना गर्नु जरुरी रहेको उनको भनाई छ ।

अस्पतालका संरचना अभाव, भवन निर्माणको ढिलाइ र सेवा विस्तारका चुनौतीबारे वक्ताहरूले चासो व्यक्त गरेका थिए । ब्लड बैंक तत्काल आवश्यक रहेको भन्दै यसको स्थापनामा सबै निकायको सहकार्य हुनुपर्नेमा जिल्ला समन्वय समिति प्रमुख महादेब बडू कस्यपले जोड दिए ।
सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले ब्लड बैंक स्थापनाका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको बताए । भवन र उपकरण मन्त्रालयले उपलब्ध गराउने तथा नियमित सञ्चालन रेडक्रसले जिम्मा लिए आवश्यक प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले ब्लड बैंक कोषमा कर्मचारीतर्फबाट रकम सहयोग गरिएको जानकारी दिए । महाकाली नगरपालिका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले स्थानीय तहहरूको सहकार्य भएमा अस्पताल अझ व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने बताइन् ।
अस्पताललाई ५० सैयामा विस्तार गर्ने योजना
जिल्ला अस्पताल दार्चुला २०४१ सालमा स्थापना भएको हो । १५ सैयाको स्वीकृति पाएको अस्पतालमा विरामीको चाप बढेपछि ३५ सैया सञ्चालनमा छ । गत वर्ष मात्र ३५ हजार ८३९ जनाले ओपिडी सेवा लिएका छन् भने चालू आवमा साउनयता १२ हजार ९०० जनाले सेवा लिइसकेका छन् ।
अस्पतालमा गर्भवती सेवा लिने संख्या पनि बढ्दो छ । गत वर्ष ४१९ जना तथा चालू वर्षमा हालसम्म १६३ जना पुगेका छन् । ४५ रोपनी क्षेत्रफलमा फैलिएको अस्पताललाई ५० सैयामा विस्तार गर्ने योजना रहेको डाक्टर रबिन्द्र भट्टराईले बताए । नयाँ भवन निर्माण सम्पन्न भएमा सेवा विस्तार सहज हुने उनको भनाइ छ ।






