सुदूरपश्चिम प्रदेशका तीन निकायमा मनोसामाजिक परामर्शकर्ताहरूले आफ्ना हक–हित र अधिकार सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । मनोसामाजिक परामर्शकर्ताहरूको साझा समस्याका विषयमा आवाज उठाउँदै उनीहरूले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा सिटीइभिटीको प्रदेश कार्यालयमा सोमबार ज्ञापनपत्र पेश गरेका हुन् ।
मनोपरामर्शकर्ताहरूले सरकारी तथा गैरसरकारी कार्यालयहरूले विज्ञापन तथा नियुक्तिमा गर्दै आएको विभेदपूर्ण व्यवहार रोक्न माग गरेका छन् । साथै मनोपरामर्श सेवा सम्बन्धी पेसाको सम्मान, आवश्यक संरचना र अवसर सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।
मनोसामाजिक परामर्शकर्ता सुदिप घिमिरेका अनुसार मनोसामाजिक परामर्शकर्ताहरूले देशभर सातै प्रदेशमा एकैदिन ज्ञापनपत्र बुझाएका छन् । अहिले मनोपरामर्श पेशालाई संस्थागत रूपमा स्थापनार्थ देशव्यापी रूपमा पहल भइरहेको उनले बताए ।
कार्यक्रममा सहभागी मनोसामाजिक परामर्शकर्ताहरूले सम्बन्धित निकायहरूले न्यायपूर्ण, छिटो र नीतिगत निर्णय गरेर आफूहरूको माग सम्बोधन गर्ने अपेक्षा व्यक्त गरे ।


मनोसामाजिक परामर्शकर्ताद्वारा सुदूरपश्चिमका तीन सरकारी निकायमा ज्ञापनपत्र




