दार्चुलाको मालिकार्जुन गाउँपालिका-७ मा जाेलजीवि मेला तथा सांस्कृतिक महाेत्सवकाे ओैपचारिक रूपमा उद्घाटन गरिएको छ । सांस्कृतिक महाेत्सवकाे पूर्वमन्त्री गणेशसिह ठगुन्नाले उद्घाटन गरेका हुन् ।
याे मेला जोलजीवि तथा भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा स्थित जोलजीविमा सदियौँदेखि मनाइँदै आएको ऐतिहासिक मेला हाे ।

१७९१ मा अस्कोटका राजा पुष्कर पालद्वारा मेला सुरू गरिएको मानिन्छ। गोरी गंगा र काली नदीनदीको संगमस्थलमा आयोजना हुने यो मेला धार्मिक, सांस्कृतिक र व्यापारिक महत्त्वका कारण नेपाल–भारत दुवै मुलुकमा समानरूपमा मनाइदै आएको छ । नेपालले २०७४ सालदेखि सरकारी मेलाकाे रूपमा जाेलजीवि मेला महाेत्सव मनाउन सुरू गरेकाे हाे ।
यहाँको काली र गोरी नदीको संगम क्षेत्रलाई पवित्र स्थल मानिँदै आएको छ।
नेपाल तथा भारतीय सीमा क्षेत्रमा स्थानीय पर्यटन, रोजगारी र व्यापार विस्तारमा मेलाले सकारात्मक प्रभाव पार्दै आएको छ।
मङ्सिर १ देखि मङ्सिर ५ गतेसम्म मेला तथा सांस्कृतिक महाेत्सव सञ्चालन हुनेछ । गाउँपालिका अध्यक्ष हिरासिह धामीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री गणेशसिह ठगुन्ना रहेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कस्यप, मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, महाकाली नगरपालिका उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, लेकम गाउँपालिका उपाध्यक्ष माधवी जाेशी, प्रमुख जिल्ला अधिकारी अनिल पाैडेल लगायत सुरक्षा निकायका प्रमुख लगायतकाे सहभागीता रहेकाे छ ।
गाउँपालिका उपाध्यक्ष कल्यानसिह धामीले स्वागत मन्तव्य दिए । मेला महाेत्सवमा स्थानीय वस्तुको प्रदर्शनीकाे साथै स्थानीय तथा राष्ट्रिय कलाकारकाे प्रस्तुति रहनेछ ।









