‘लिपुलेक हाम्रो हो’ भन्दा अध्यक्ष ओलीमाथि प्रहार भएको दाबी

नेकपा एमालेका केन्द्रीय सदस्य हरदेव जोशीले लिपुलेक विषयमा अध्यक्ष केपी शर्मा ओलीले बोलेको भन्दै उनीमाथि विभिन्न कोणबाट प्रहार भएको दाबी गरेका छन्। ‘प्रतिगामी षड्यन्त्र’ विरुद्ध जनपरिचालन अभियानअन्तर्गत सदरमुकाम खलंगामा आयोजित कोणसभालाई सम्बोधन गर्दै जोशीले उक्त कुरा बताएका हुन्।

जोशीका अनुसार चीन भ्रमणका क्रममा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले भारतसँग लिपुलेक सम्बन्धी भएको समझदारी खारेज हुनुपर्ने अभिव्यक्ति दिएपछि सरकारले उनलाई असफल पार्ने खेल सुरु भएको आरोप लगाए।
‘राष्ट्रियताको स्वाभिमानका लागि एमालेमात्रै बलियो शक्ति हो,’ जोशीले भने।

उनले अहिलेको सरकारले संविधानको मान्यता नसकेको र ‘सडकको हावाहुरीबाट आएको सरकार’ ले जनताको अधिकार सुनिश्चित गर्न नसक्ने दाबी गरे। जनताको अधिकार सुरक्षित गर्न संसद पुनःस्थापना नै एक मात्र विकल्प भएको उनले उल्लेख गरे।

कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य प्रेमसिंह धामीले जनता र राष्ट्रको पक्षमा एमाले सडकमा उत्रिन बाध्य भएको बताए।

त्यसैगरी, एमालेका पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशीले ‘जेनजी’ आन्दोलनका नाममा नेकपा एमालेका संरचना र पार्टी कार्यालयमा भएको क्षतिप्रति आक्रोश व्यक्त गर्दै, ‘एमाले जीवितै छ, यसको बदला जनताको बलमा लिइनेछ,’ भने।

जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले ‘जेनजी’ को नाममा पार्टी तोडफोडमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने चेतावनी दिए। उनले भने, ‘हामी तीन पुस्ते खोजिरहेका छौं, अपराधिक मानसिकता भएका व्यक्तिहरू कानुनको कठघरामा आउँछन्।’

कार्यक्रम जिल्ला कमिटी सचिव उमेशराज जोशीले सञ्चालन गरेका थिए। कार्यक्रममा अनेरास्ववियुका नेता खडकसिंह धामीले समेत सम्बोधन गरेका थिए।

कार्यक्रममा स्थानीय सांस्कृतिक पहिचान झल्किने दमाहा, मस्कबिन, छलिया, सरौंलगायत नाच तथा प्रस्तुति गरिएको थियो। खलंगामा आयोजित ¥यालीमा सहभागीहरूले आ–आफ्नो क्षेत्रको सांस्कृतिक पहिचान झल्किने गरी प्रदर्शन गरेका थिए।

सम्बन्धित समाचार

ताजा समाचार