दार्चुलाकाे गाेकुलेश्वर माविको भवन निर्माणको लागि त्रिपक्षीय सम्झौता

दार्चुलाको शैल्यशिखर नगरपालिका- ९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विद्यालय भवन निर्माणको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय राजदुताबास र नगरपालिकाबिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हाे ।

भारतीय दुताबासको ९० प्रतिशत र शैल्यशिखर नगरपालिकाको १० प्रतिशत लगानीमा गोकुलेश्वर माध्यमिक विद्यालयको अत्याधुनिक भवन निर्माणको लागि सम्झौता भएको शैल्यशिखर नगर प्रमुख विजयसिह धामीले जानकारी दिए ।

भारतीय राजदुताबासको हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्टस परियोजना अन्तर्गत निर्माण हुने विद्यालय भवनको लागि मन्त्रालयको तर्फबाट उप-सचिव प्रलाद्ध कुमार कार्की, दुताबासको तर्फबाट काउन्सलर अभिनास कुमार सिंह र शैल्यशिखर नगरपालिकाको तर्फबाट नगर प्रमुख विजय सिंह धामीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

कुल १९ करोड ३३ लाख ४८ हजार १ सय ४० रुपैँया लागत विद्यालय भवन निर्माण हुनेछ । जसमा १५ करोड तीन लाख १८ हजार तीन सय १८ रुपैँया भारत सरकार र एक करोड ५० लाख शैल्यशिखर नगरपालिकाले व्यहोर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टका अनुसार परियोजना अन्तरगत ४ वटा भवन निर्माण हुनेछन् । जसमा कक्षा काेठा, प्रयोगशाला, पुस्तकालय, छात्राबास, चमेनागृह, र कबडहल, घेर पर्खाल, बगैँचा लगायतका संरचना निर्माण हुनेछन् ।

सम्बन्धित समाचार

ताजा समाचार