दार्चुला । केदारनाथ बचत तथा ऋण सहकारी संस्था अहिले सहकारीको क्षेत्रमा दार्चुलामा चर्चित नाम हो । २०६२ सालमा दुहुँ गाउँपालिका साविकको धारी गाउँ विकास समिति वडा नम्बर ५ मा केहि युवाहरुको सक्रियतामा केदारनाथ सामुदायिक संस्था गठन भएको समूह थियो । एउटा सामुदायिक संस्थालाई २०६२ सालमा सहकारी संस्थाको रुपमा परिणत गर्दै अहिले यो जिल्लाभरि चम्किएको छ ।
सहकारी बुझेका व्यक्तिहरुको सक्रियातामा अहिले यो जिल्लाभरिकै कार्य क्षेत्र बनाएर काम थालेको छ । यो सहकारीले यहि कात्तिक २० गतदेखि मङ्सिर ६ गतेसम्म २० औं साधारण सभाको आयोजना गर्दै छ । यो वर्षको साधारण सभा शाखाहरुबाटै भव्य रुपमा मनाउदै आउने योजना रहेको केदारनाथ बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत धनराज जोशी बताउँछन् ।
४० जना शेयरधनीबाट सहकारी सञ्चालन भएको छ । अहिले सहकारीको कार्य क्षेत्र जिल्लाभरि छ । सहकारीको सुरुको शेयर पूजी २६०० र बचत २६ हजार ७५० रुपैयाँ थियो । हाल सहकारीको शेयर सदस्य संख्या चार हजार ६६० जना महिला र एक हजार ९९७ जना पुरुष रहेका छन् । सहकारीमा हाल बाल बचतकर्ता ६८५ जना, पेन्सन बचत कर्ता १८३ जना रहेका छन् । सहकारीको आर्थिक बर्ष २०८१÷८२ सम्म २२ करोड ६० लाख रुपैँया ऋण लगानी गरेको छ ।
सहकारीले अहिले अनलाइन सफ्टवेयरका माध्यमबाट कारोबार थालेको छ । यस्तै मोवाइल बैकिङ सेवा समेत सहकारीले प्रदान गरेको जोशी बताउँछन् । सहकारीले व्यापार पशुपालन कृषि, बैदेशिक रोजगार, उद्योगहरुमा लगानी गर्दै आइरहेको छ ।


गाउँबाट जन्मिएको सहकारी जिल्लाभरि चम्किदै




