सिआरडिएस नेपाल दार्चुलाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

दार्चुला जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पशु र जनचेतना फैलाउने क्षेत्रमा विगत लामो समय देखी काम गर्दै आइरहेको गैरसरकारी संस्था सामुदायिक ग्रामिण विकास समाज नेपालको गत आर्थिक २०८१÷८२ को सामाजिक परिक्षण गरिएको छ । संस्थामा आबद्ध पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, महिला समुह लगायत सरोकारवालाहरुको सहभागितामा सदमुकाम खलङ्गामा आज एक कार्यक्रमका बिच संस्थाको सामाजिक परिक्षण गरिएको हो ।


सुशासन, पारदर्शीता, जवाफदेहिता र उत्तरदायित्व बढाउने उद्देश्यका साथ संस्थाको सामाजिक परिक्षण गरिएको संस्थाका कार्यकारी प्रमुख अशोक ओझाले जानकारी दिनुभयो । संस्थालाई जनताप्रति उत्तरदायि बनाउने हेतुले प्रत्येक वर्ष संस्थाको सामाजिक परिक्षण गर्ने गरेको उहाँले बताउनुभयो । सामाजिक परिक्षण कार्यक्रमको सहजीकरण थ्रीडि रिसर्च डेभलोपमेन्ट सोलुसन ललितपुरका कार्यकारी प्रमुख डाक्टर चक्र चन्दले गर्नु भएको थियो ।


सामाजिक परिक्षण गर्नु पुर्व सहजकर्ता चन्दले संस्थाले दार्चुला जिल्लामा संचालन गरिरहेका सबैजसो कार्यक्रमहरुको अनुगमन गरेको प्रस्तुती गर्नु भएको छ । उहाँले खासगरी विद्यार्थी, कृषक, दलित समुदाय, महिला र बालबालिकालाई केन्द्रमा राखेर अनुगमन तथा अन्तर्वाता गर्नु भएको प्रस्तुती गर्नु भएको थियो ।


संस्थाले गत आवमा आइसिडिपी, ट्रोसा, पिआइएफ, इजीएलपी, आइसिडिपी फाइनान्स, सोसल सर्भिस युनिट र इमरजेन्सी फुड रेसपोन्स कार्यक्रमहरु संचालन गरेको जनाएको छ । संस्थालाई विभिन्न कार्यक्रमहरु संचालन गर्न चार करोड चौबिस लाख सैतिस हजार ३१३ रुपियाँ प्राप्त भएको संस्थाका लेखा प्रमुख मोहित सिलालले जानकारी दिनुभयो । संस्थाले एक आर्थिक वर्षमा सात लाख चौरासी हजार ४२५ रुपियाँ कर भुक्तान गरेको पनि उहाँले बताउनुभयो ।


सामाजिक परिक्षण कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले आगामी दिनमा स्थानीय तहहरु संस्थासँगको समन्वय र सहकार्यमा अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख महादेव बडू, दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल, उपाध्यक्ष शान्ति बम, महाकाली नगरपालिका उपप्रमुृख दुर्गाकुमारी खत्री विष्ट, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्यानसिंह धामीको उपस्थिती रहेको थियो ।


संस्थाका सचिव प्रेमराम चुनाराको अध्यक्षतामा भएको कार्यक्रमको संचालन इजीएलपी कार्यक्रमका संयोजक मानसिंह कार्कीले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार