दार्चुला — सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले तयार पारेको “स्थानीय तहहरूको मूल्याङ्कन मापदण्ड, २०८२/८३” अनुसार दार्चुलाको नौगाड गाउँपालिका स्वास्थ्य क्षेत्रमा जिल्लामै प्रथम बनेको छ।

स्वास्थ्य कार्यालय दार्चुलाले शुक्रबार सदरमुकाम खलङ्गामा आयोजना गरेको जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा नौगाड गाउँपालिकाले ८९.५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

स्वास्थ्यका विभिन्न सूचका आधार स्वास्थ्य सेवा, व्यवस्थापन, सूचना व्यवस्थापन, वित्तीय व्यवस्थापन, प्रस्तुतिकरण र असल अभ्यासका आधारमा नौगाड उत्कृष्ट ठहरिएको हो।

गाउँपालिकाले पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवा सुधार र विस्तारका क्षेत्रमा काम गर्दै आएको छ। गाउँपालिका अध्यक्ष दलजीतसिंह धामीका अनुसार गाउँपालिकाले स्वास्थ्य क्षेत्रकाे विकासकाे लागि स्वीकृत दरबन्दीभन्दा बढी जनशक्ति व्यवस्थापन गरी स्वास्थ्य सेवा प्रभावकारी बनाइएको छ।
यस्त वडा नम्बर १ नागु र वडा नम्बर ६ गडिगाडमा नयाँ बर्थिङ सेन्टर स्थापना गरी गर्भवती र सुत्केरी महिलाहरूका लागि सहज सेवा प्रदान गरिएको छ।
गाउँपालिकाले आफ्नै स्रोतमा आधारभूत अस्पताल सञ्चालन गर्दै प्रसूति तथा सुरक्षित गर्भपतन सेवा सुरु गरेको छ। डाक्टर नियुक्ति र आवश्यक स्वास्थ्य उपकरणहरूको व्यवस्थापन पनि पालिकाकै स्रोतबाट गरिएको अध्यक्ष धामीले बताए।
उनका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ भित्र आधारभूत अस्पताललाई नेपाल सरकारबाट औपचारिक स्वीकृति दिलाउने प्रक्रिया अघि बढाइएको छ। होपरीगाडमा सञ्चालनमा रहेको अस्पतालमा एक्सरे लगायतका उपकरण र जनशक्ति थप गरी विमित अस्पतालको स्वीकृतिका लागि पहल भइरहेको धामीले जानकारी दिए।
गाउँपालिकाका अनुसार स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिमा स्वास्थ्य कार्यालय दार्चुला, स्वास्थ्य विभाग र सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन केन्द्रको सहयोग रहेको छ।
´यो उपलब्धि सम्पूर्ण स्वास्थ्यकर्मीहरूको लगनशीलता, व्यवस्थापकीय दक्षता र सहकार्यको परिणाम हो,´ अध्यक्ष धामीले भने।












