दार्चुला । मालिकार्जुन गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । राष्ट्रको सातौं धामको रुपमा परिचित मालिकार्जुन धाममा हुने जात्राकाे लागि सार्वजनिक विदा दिएको हाे ।

कार्तिक १७ गते त्रयोदशीका दिन शिखर पूजनजात्रा लाग्ने र कार्तिक १८ गते मंगलबार चर्तुदशी तिथिमा मालिकार्जुन धाममा रात्रिकालीन जात्रा लाग्ने भएकाले गाउँपालिका भित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने गाउँपालिकाले जनाएको छ ।

कार्तिक ९ गते मालिकार्जुन मन्दिर परिसरमा बसेको जिल्ला सुरक्षा समितिको सर्वपक्षीय बैठकले गरेका निर्णयहरुको पूर्णपालना गर्न भनेको छ ।

प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन ठुलो जात्रा लाग्ने गर्दछ । मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् ।
मालिकार्जुन मन्दिरमा लाग्ने जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि मेलास्थललाई मदिरा तथा जुवातास निषेधित क्षेत्र घोषणा गरिएको छ । कसैले मदिराको कारोबार तथा सेवन गरेमा कानुन अनुसार कारवाही हुने प्रहरी कार्यालय दार्चुलाले चेतावनी दिएको छ ।













