मालिकार्जुन जात्रामा मदिरा निषेध !

दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा कात्तिक १८ गते जात्रा लाग्दैछ । जिल्लाकै ठूलो जात्राको रुपमा लाग्ने जात्रालाई शान्तिपूर्वक सम्पन्न गर्न मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ ।
जिल्ला सुरक्षा समिति, स्थानीय तह, मन्दिर व्यवस्थापन समिति, सर्वसाधारणको सहभागितामा मालिकार्जुन मन्दिरमा भएको सर्वपक्षीय भेलाले जात्रामा मदिरा विक्री वितरण पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने सुझाव आएको हो ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार आगामी कात्तिक १२ गते देखि मालिकार्जुन क्षेत्रमा मदिरा ओसारपसार गर्न पाइने छैन् । यस्तै कात्तिक १६ गतेदेखि मालिकार्जुन क्षेत्रमा मदिरा सेवन निषेध गरिएको छ ।
प्रहरीले जात्रा हुनुभन्दा तीन दिन अगाडी देखि नै विक्रीवितरण तथा सेवन नगर्न÷नगराउन सचेत गर्ने छ । मदिरा नियन्त्रणको लागि स्थानीय तहले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनका अनुसार जात्रामा मदिरा सेवन गरी होहल्ला गर्ने र सेवन गरेकाहरुलाई नियन्त्रणमा लिइ कारबाही गरिनेछ । लागूऔषध तथा मदिराजन्य पदार्थलाई मध्यनजर गर्दै प्रहरीले पसलहरुमा खोजतलास÷निगरानी गर्नुका साथै नागरिकका झोलासमेत चेकजाँच गर्ने जनाएको छ ।
जात्रामा प्रस्थान गर्ने क्रममा महाकाली नगरपालिकाका वडा नम्बर, ७, ८ र ९, शैल्यशिखर नगरपालिकाको वडा नम्बर ५ र ६ तथा मालिकार्जुन गाउँपालिकाभरि मदिरा विक्री वितरण ओसारपासर गर्न पाइने छैन् ।
हरेक वर्ष हजारौं भक्तजनहरु आउने जात्रालाई सबैले चासो दिएका छन् । विगतका वर्षकै निरन्तरता दिन यो वर्ष पनि सुरक्षाकर्मीले विशेष चासो दिएका छन् । स्थानीय जात्रा व्यवस्थापन समितिले समेत मदिरा निषेध र जुवातास नियन्त्रणमा कडाई गर्न माग गरेपछि प्रशासनले सुरक्षा व्यवस्थापनमा चासो दिएको हो ।
मदिरा सेवन गरि होहल्ला गर्ने तथा जात्रा विथोलिएको पाइएमा कानुन बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी गौरब महतले जानकारी दिए । लेकम क्षेत्रमा लाग्ने जात्रामा प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा सुरक्षा व्यवस्थापन गर्ने तयारी छ ।
संयुक्त सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालन हुन्छन् महतले भने, मालिकार्जुन जात्रा मात्र नभई जयपुर जात्रामा समेत यसरी नै सुरक्षाकर्मी परिचालन हुनेछन् । सबैको नजर मालिकार्जुन भएको कारण मालिकार्जुन जात्राको सुरक्षा प्रबन्ध विशेष हुनेछ ।
जात्रको दिन ट्राफिक व्यवस्थापन गर्न चौतलीचौड गेट भित्र सबै प्रकारका सवारी साधन प्रवेशमा रोक लगाइने छ । राति १२ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन सञ्चालन गर्न पाइने छैन् । रात्रिकालिन समयमा मदिरा तथा लागू औषध सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको डिएसपी महतले बताए ।
धार्मिक पर्यटकीय क्षेत्र भएकै कारण पालिकाले मालिकार्जुनमा मदिरा निषेध गरेको गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताए । अहिले जात्रालाई शान्ति सुरक्षा र धार्मिक आस्थावानहरुको लागि सहज होस् भन्न मदिरा विक्री वितरणमा झन कडाई गर्न प्रशासनसँग माग गरिएको उनले बताए ।
मालिकार्जुन जात्रामा रातभरि पुजाआजासहित दामाहा बजाउने, झोडो, फाग गाउने, ठाडो खेल, देउडा खेल खेल्ने लगायत विभिन्न धार्मिक र सांस्कृतिक गतिविधि हुने गर्छ । मालिकार्जुन जात्राको लागि सुदूरपश्चिमका साथै भारत उत्तराखण्डबाट समेत भक्तजनहरु आउने गर्छन् । यो क्षेत्रमा दशैतिहार नयाँ वर्षभन्दा पनि जात्रालाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।
मालिकार्जुन मन्दिरमा भएको सर्वपक्षीय भेलामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्रसिंह धामी, शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, महाकाली नगरपालिका उपप्रमुख दुर्गाकुमारी खत्री बिष्ट, प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, वडा अध्यक्षहरु मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार