दार्चुलामा जात्राको रौनक सुरु

दार्चुला । तिहारसँगै यहाँका विभिन्न स्थानमा जात्राको रौनक सुरु भएको छ । भाइटिका अर्थात द्वितीया तिथिबाट सुरु हुने जात्रा पूर्णिमाको दिन सकिन्छ । यहाँका शैल्यशिखर, महाकाली नगरपालिका, मालिकार्जुन र लेकम गाउँपालिकामा करिब एक महिनासम्म रात्रिकालीन जात्रा लाग्ने गर्दछ ।

शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर चौडमा आजदेखि जात्रा सुरु हुन्छ । जिल्लाको सबैभन्दा ठुलो शैल्यशिखरमा त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सकिन्छ । यहाँको लेकाली क्षेत्रमा दशैँ तिहारभन्दा जात्रालाइ बढी महत्त्व दिइन्छ ।

आजको दिन भाइटिका लगाएपछि शैल्यशिखर-७ स्थित लटिनाथ मन्दिर बन्तोली, मालिकार्जुन-३ स्थित लटिनाथ मन्दिर चौडमा जात्रा लाग्ने गर्दछ । यहाँका स्थानीयले जात्राको तयारी एक महिना अघिदेखि सुरु गर्छन् । जात्राको पूर्वसन्ध्यामा लेकम-५ मैखोली खर्क तथा मालिकार्जुन-३ लटिनाथ मन्दिर चौडमा सरसफाइ गरिएको स्थानीय राधावल्लव जोशीले जानकारी दिए ।

लटिनाथ मन्दिर बन्तोलीको व्यवस्थापन समितिले जात्रा अवधिभर मदिरा सेवन, जुवातास र अवाञ्छित गतिविधि पूर्णरूपमा निषेध गरेको जात्रा संयोजक मनिराज जोशीले बताए । जात्रामा भक्तजनले पूजाआजा गर्नुका साथै दमाहालगायत बाजा बजाउने, डेउडा खेल्ने गर्दछन् ।

जात्राका लागि पहाड पुख्र्यौली घर भइ तराई बसोवास भएका तथा कामका सिलसिलामा गाउँ बाहिर गएकास मेत फर्किएपछि यहाँका गाउँमा जात्राको चलहपहल बढेको हो । जात्रालाई शान्त र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालयले सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार