दार्चुला – सुदूरपश्चिमको दार्चुला घर भएका प्रहरी जवान उत्तम सिंह थापाको हत्या आरोपमा थप एक जना पक्राउ परेका छन्। प्रहरी जवान थापाको हत्या आरोपमा काठमाडौँबाट २१ वर्षीय सोम गुरुङलाई प्रहरीले पक्रेको हो। उनलाई धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दार्चुलाको लेकम गाउँपालिका–३ घुमखोलीका घर भएका थापाको जेन्जी आन्दोलनको क्रममा २४ भदौमा हत्या भएको थियो। उनलाई कुटिकुटी हत्या गरिएको थियो। उनी प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत थिए। महाराजगञ्जमै कार्यरत असई मिलन राय र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी हवल्दार अमृत गुरुङको पनि हत्या भएको थियो।

यसअघि जवान थापा तथा असई र हवल्दारको हत्या आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो। पक्राउ परेका काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासेका २१ वर्षीय सोनाम तामाङ पुर्पक्षका लागि कारागार चलान भएका थिए।

प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। जसमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासेका २१ वर्षीय सोनाम तामाङ भनिने बुद्धिलाल थिङलाई प्रतिवादी बनाइएको थियो।
आफ्नो भतिजाको हत्या गरेको भन्दै काका इश्वर सिंह थापाले प्रहरीमा जाहेरी दिएका थिए। उनीहरुविरुद्ध ज्यान मार्ने कसुर र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरिएको छ। जसअनुसार ज्यान कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ अन्तर्गतको कसुरमा जन्मकैदको सजाय मागदाबी गरिएको छ।