दार्चुलाका सिडिओ पौडेलको छ महिनाः सेवा सरलीकरण र सामाजिक उत्तरदायित्वमा सक्रियता

दार्चुला — दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनिल पौडेलले आफ्नो छ महिनाको कार्यकालमा भएका कामहरुको सूची सार्वजनिक गरेका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले जिल्लामा आएपछि गरेका कामहरू २१ बुँदामा सार्वजनिक गरेका हुन् ।
२०८१ चैत २८ गते जिल्ला प्रशासन कार्यालयमा कार्यभार सम्हालेका पौडेलले समन्वयमार्फत भएका कामहरू सार्वजनिक गर्दै अझै जिल्लाका केही महत्वपूर्ण विषयमा काम गर्न बाँकी रहेको उल्लेख गरे ।
उनका अनुसार सेवाग्राहीलाई सहज सेवाप्रदानका लागि प्रशासन कार्यालयमा सेवा सरलीकरण र अभिलेख व्यवस्थापन सुधार गरिएका छन् । कार्यालय परिसरमै हुलाक डेस्क स्थापना, खानेपानी सुविधा, र राहदानी वितरणको गति तीव्र र सरल बनाइएको छ ।
६१ वटै वडाका अध्यक्ष र सचिवलाई बोलाएर सेवा प्रवाह सुधारका लागि अनुशिक्षण र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । यसबाट वडाबाट आउने सिफारिस प्रक्रियामा सहजता आएको प्रशासनको दाबी छ । खासगरी वडाले गर्ने सिफारिसका कार्यहरु सहज र व्यवस्थित बनेका छन् ।
जिल्लामा राजस्व संकलन, बजार अनुगमन र लागूऔषधविरुद्ध सचेतना अभिवृद्धि गरिएको छ । त्यस्तै सडक सुरक्षा र असामाजिक गतिविधि नियन्त्रणमा समेत सक्रियता बढाइएको प्रशासनले जनाएको छ ।
रगत अभावका कारण बिरामीले भोग्दै आएका समस्या समाधान गर्न रक्तसञ्चार केन्द्र स्थापनाका लागि निजामती कर्मचारी र सुरक्षाकर्मीबाट पाँच लाख ५१ हजार रुपैयाँ संकलन गरी ब्लड बैंक व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । रक्त सञ्चार केन्द्रलाई व्यवस्थित र कार्य अगाडि बढाउन निरन्तर पहल भइरहेको उनले बताए । ब्लड बैंक व्यवस्थापनको लागि स्थानीय तहसँग समन्वय प्रशासनले गरिरहेको छ ।
जिल्लामा रगत अभाव हुन नदिन बृहत् रक्तदान कार्यक्रम गरि ९४ पोइन्ट रगत संकलन गरिएको उनले बताए । उनका अनुसार बृहत्त रक्तदान कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा कर्मचारी मिलन केन्द्र, सामािजक विकास कार्यालय, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका, पतञ्जली परिवार, र सुरक्षा निकायको सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।
जिल्ला प्रशासनको समन्वयमा व्याँस गाउँपालिका–२ की जानकी बुढाथोकीलाई मातृ संरक्षणका लागि ५६ हजार २ सय रुपैयाँ सहयोग प्रदान गरिएको थियो । जानकीको श्रीमानको तुइनबाट खसेर मृत्यु भएपछि उनलाई मातृ संरक्षण, नवजात शिशुको लागि सहयोग गरिएको प्रजिअ पौडेलले बताए ।

तीन स्थानीय तहमा घुम्ती शिविर
नागरिकलाई गाउँमै सहज सेवा दिन जिल्ला प्रशासन कार्यालयले व्याँस, लेकम र अपिहिमाल गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गरेको छ। यस शिविरमार्फत अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई सेवा दिइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामी नेतृत्वको टोलीलाई गाउँमै पठाएर सेवा दिएको थियो । गाउँमै घुम्ती शिविर सञ्चालन गर्दा नागरिकले सहज रुपमा नागरिकता, नागरिकता प्रतिलिपि र राष्ट्रिय परिचय पत्र बनाउन सहज भएको थियो ।
त्यस्तै, नागरिकता सिफारिस अनलाइन प्रणाली वडा तहबाटै सञ्चालनमा आएको छ । हाल ६१ मध्ये ३३ वडामा अनलाइन सेवा सुचारु भएको छ । साथै, राष्ट्रिय परिचय पत्र अनलाइनबाटै भर्न र त्रुटि सच्याउन जिल्लाबाटै सुविधा मिलाइएको छ ।

सार्वजनिक सुनुवाइ र कार्यसम्पादन
प्रशासनले पहिलो पटक एक्जिट पोलको माध्यमबाट सार्वजनिक सुनुवाइ गरेको छ। नेपाल पत्रकार महासंघ दार्चुलाको सहजीकरणमा गरिएको सो कार्यक्रममा सेवाग्राहीको गुनासो, सुझाव र सुधारका बुँदाहरू संकलन गरिएको थियो ।
विकासे कार्यालयहरूले आफ्ना कामहरू सार्वजनिक गर्न नसकेको बेला प्रशासनले सार्वजनिक सुनुवाइमार्फत पारदर्शिता र जवाफदेहिताको अभ्यास गरेको हो ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार, पारदर्शी र व्यवस्थित सेवा प्रवाहकै कारण दार्चुला प्रशासनले देशभरका जिल्लामध्ये कार्यसम्पादनमा आठौँ स्थान प्राप्त गर्न सफल भएको छ ।
प्रशासनले आफुले सम्पादन गरेका कामहरु सार्वजनिक गरेकोमा पत्रकारहरुले प्रशासनको कामको प्रंशसा गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार