दार्चुला – सुदूरपश्चिमकाे दार्चुलामा अवस्थित ६,३९७ मिटर अग्लो ल्हायुल हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको छ।
नेपाल पर्वतारोहण संघद्वारा सञ्चालित प्रोफेशनल माउन्टेन गाइड ट्रेनिङको समर स्किल कोर्स अन्तर्गत प्रशिक्षक र विद्यार्थीहरूको टोलीले सेप्टेम्बर १८ मा सफल आराेहण गरेकाे हाे ।
हिमालकाे उत्तर रिज मार्ग हुँदै आराेहण भएको छ ।


नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको सहकार्यमा सञ्चालित सस्टेनेबल टुरिज्म प्रोजेक्ट तथा अपि हिमाल गाउँपालिकाको सहकार्यमा हिमाल आराेहण भएको हाे ।
पर्यटन विभागकाअनुसार ल्हायुल हिमाल पहिलो पटक आरोहण भएको छ।


हिमाल आरोहण टोलीमा प्रशिक्षक लालबहादुर जिरेल, रामकाजी तिवारी, रक्षाराज तामाङ रहेका थिए । यस्तै प्रशिक्षार्थीकाे रूपमा दली शेर्पा, सूर्यमान तामाङ, सुरजन तामाङ र विशाल योन्जन रहेका छन् ।


नेपाल पर्वतारोहण संघका अनुसार यस सफल आराेहणले व्यावसायिक पर्वतारोहण तालिमको स्तरलाई प्रमाणित गर्नुका साथै नेपालका कम परिचित हिमालहरूलाई प्रवर्द्धन गर्न सहयाेग पुर्याउने छ।
