उपचारको आशामै बित्यो धनबहादुरको एक दशक

तिङ्कर खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त कतै घामले तातिएको कालोपत्र । सोही सडक हुँदै आवतजावत गर्नेले एक दशकयता घिस्रिरहेका एक व्यक्ति देख्ने गर्छन् । यसरी घस्रिएर जीवन धानिरहेका महाकाली नगरपालिका–४ का ५९ वर्षीय धनबहादुर क्षेत्री छन् ।

हेर्दा उनको अवस्था जति नाजुक देखिन्छ त्यो भन्दा कैयौँ गुना पीडा बोकेर उनी एक दशकदेखि शरीर घिसार्दै जीवन धानिरहेका छन् । अचानक खुट्टा र कम्मरले काम गर्न छाडेपछि उनका शरीर पाङ्ग्रा फुत्किएको गाडीझैँ भयो ।

समयमै उपचार गर्न उनीसँग पैसा थिएन । छोराछोरी सानै थिए । विगत सम्झिँदै उनले भने, “एकाएक कम्मरले काम गर्न छोड्यो । अहिले घर बाहिर भित्र गर्नै गाह्रो छ । अपाङ्गता भएका कारण समाजले हेर्ने दृष्टिकोण पनि राम्रो छैन् ।”

विसं २०७१ सालदेखि उहाँमा अपाङ्गताको समस्या सुरु भएको हो । कम्मरदेखि सुरु भएको समस्या बल्झिँदै गएपछि उनको खुट्टाले काम गर्न छाडे । “त्यतिखेर पैसा भएको भए म उपचारका लागि अस्पताल जान्थेँ होला । उपचार गरेको भए मेरो शरीर चल्थ्यो होला,” गहभरी आँसु पार्दै उनले भने ।

अब त उमेरले डाँडो काट्न लाग्यो । यसवर्षको बर्खायामदेखि त बाहिर निस्कन पनि नसक्ने भएको छ । समस्या झनै जटिल बन्दै गएपछि नलाई बाहिर निकाल्नै समस्या हुन थालेको उनकी श्रीमती मीना क्षेत्रीले बताइन् । “कहीँ गएर हामीलाई सहयोग दिनुहोस् भन्न पनि सकेनौँ । श्रीमान्को यो अवस्था देखेर सहयोग गर्ने कोही भएनन्”, उनले भने “खुट्टाले नटेके पनि हात राम्रा थिए । तर तीन चार वर्षयता हातले पनि काम गर्न छाडे ।”

परिवार चलाउने बल्ल तल्ल एक छोरीले सहयोग गर्न थालेको उनको भनाइ छ । छोरीले अहिले ब्यूटिपार्लर सिकेर सहयोग गर्न सक्ने भएकी छन् । धनबहादूर पूर्ण रुपमा श्रीमती मीनाको सहारामा मात्र बाहिर भित्र गर्न सक्ने अवस्थामा छन् ।

उनले अपाङ्गता भत्ताबापत मासिक रु तीन हजार प्राप्त गर्छन् । महाकाली नगरपालिकाले ह्वीलचियर प्रदान गरेको छ । थप सहयोगका लागि नजिकै सरकारी कार्यालय छैनन् ।

राम्रो अस्पतालमा एकपटक पुर्‍याउन सके उमेरले डाँडो काटे पनि अझै अहिलेभन्दा अथवा हुने थियो कि भन्ने क्षेत्री दम्पत्तिको आशा छ । तर सहयोगी मन र राज्यको ध्यानबिना त्यो आशा पूरा होला कि नहोला भन्ने पीरले दिनरात उनीहरुलाई पिरोलिरहन्छ ।

सम्बन्धित समाचार

ताजा समाचार