दार्चुलामा जेनजीले गरेको आन्दोलनको क्रममा आठ वटा कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भदौ २४ गतेदेखि भदौ २८ गतेसम्मको अवधिमा कार्यालयहरुमा क्षति पुगेको हो । क्षतिको एकिन रकम अझै खुलेको छैन् ।
भदौ २४ गते भएको आन्दोलनको क्रममा जिल्लामा रहेका तीन वटा राजनीतिक पार्टी कार्यालय, दुई वटा वडा कार्यालय, जिल्ला कारागार, गोकुलेश्वर अस्पताल र रेडियो लोकदर्पण एफएमको कार्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

आन्दोलनको क्रममा जिल्लामा रहेका नेपाली काग्रेँसको पार्टी कार्यालयमा ६५ हजार रुपैयाँ नगदसहित जिन्सी कार्यालयभित्रका सम्पूर्ण सामाग्री नष्ट गरिएको छ । यस्तै नेकपा एमालेको पार्टी कार्यालयभित्रका कम्प्युटर उपकरण लगायत कार्यालय पूरै तोडफोड गरिएको छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय रहेको शहिद प्रतिष्ठानमा झण्डै ९९ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ ।

यस्तै कारागार दार्चुलामा दुई वटा सीसी क्यामेरासहित झण्डै ५१ हजार पाँच सय रुपैयाँ बराबरको क्षति पुगेको छ । गोकुलेश्वर अस्पतालमा क्षति पु¥याए पनि कति लागत बराबर क्षति पुग्यो भनेर विवरण पेश भएको छैन् ।
भदौ २६ गते दुहुँ गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा आगजनी गरिएको छ । चार कोठे भवन रहेको वडा कार्यालयको एउटा कोठा पूरै जलेर नष्ट भएको छ । वडा कार्यालयभित्रका सम्पूर्ण कम्प्युटर प्रिन्टर लगायतका सामग्री क्षति पुुगेको छ । वडा कार्यालयको कुल बहत्तर लाख छ हजार सात सय रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

यसैगरी भदौ २८ गते शैल्यशिखर नगरपालिका वडा नम्बर २ को वडा कार्यालयमा तोडफोड गरिएको छ । तोडफोडबाट वडा कार्यालयभित्रका सम्पूर्ण समान नष्ट गरिएको भए पनि क्षति रकम खुलाइएको छैन् ।
लेकम गाउँपालिका–५ मा रहेको सामुदायिक रेडियो लोकदर्पण एफएफमा आन्दोलनकारीले ढुंगामुढा प्रहार गरेको प्रशासनले जनाएको छ । आन्दोलनपछि अहिले सबै ठाउँमा सेवा सुचारु भएको छ ।