दार्चुलाको ल्हायुल चुली हिमालको सफल आरोहण

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिकामा अवस्थित ६,३९५ मिटर अग्लो ल्हायुल चुली हिमालको पहिलोपटक सफलतापूर्वक आरोहण गरिएको छ । नेपाल माउन्टेन एसोसियसनले आयोजना गरेको माउन्टेन गाइड तालिम अन्तर्गत यो आरोहण भएको हो ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) नेपालको सह–लगानीमा सञ्चालित ‘दिगो पर्यटन परियोजना (एसटीपी)’ अन्तर्गत नेपाल पर्वतारोहण संघ र अपिहिमाल गाउँपालिकाको सहकार्यमा तालिम सञ्चालन गरिएको थियो ।


अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार तीन जना प्रशिक्षक र चार जना प्रशिक्षार्थीले संयुक्त रूपमा ल्हायुल चुलीको सफल आरोहण गरेका हुन् । आरोहण गर्ने प्रशिक्षकहरूमा लालबहादुर जिरेल, रामकाजी तिवारी र रक्षाराज तामाङ रहेका छन् । यस्तै प्रशिक्षार्थीहरूमा सुर्यमान तामाङ, सुरजन तामाङ, विष्णु योञ्जन र डली शेर्पा सहभागी भएका छन् । यसअघि टोलीका मुख्य प्रशिक्षक संजीव गुरुङ घाइते भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
भदौ तेस्रो सातादेखि अपिहिमाल पुगेको टोली हाल पनि हिमालमै रहेको छ । टोलीले छिट्टै अपिहिमाल (७,१३२ मिटर) आरोहण गर्ने योजना बनाएको छ ।


अध्यक्ष बोहराका अनुसार ल्हायुल चुली दार्चुलाको अपिहिमाल क्षेत्रको सुन्दर तर कम परिचित हिमाल हो । यसअघि यहाँ कसैले आरोहण गर्न सकेका थिएनन् । पहिलोपटक सफल आरोहणसँगै यो हिमाल अन्तर्राष्ट्रिय पर्वतारोहण नक्सामा समेटिने विश्वास लिइएको छ ।
अपिहिमाल गाउँपालिकाले ल्हायुल चुलीलाई नयाँ पर्वतारोहण गन्तव्यका रूपमा प्रचार–प्रसार गर्ने तयारी थालेको छ । यसलाई सामुदायिक पर्यटनसँग जोडेर स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ पाउनेगरी योजना अघि बढाइने गाउँपालिकाले जनाएको छ ।
प्राकृतिक सुन्दरता, जैविक विविधता र सांस्कृतिक धरोहरले भरिपूर्ण अपिहिमाल क्षेत्रमा ल्हायुल चुली आरोहणले ट्रेकिङ मार्गको विकास, होमस्टे प्रवद्र्धन तथा रोजगारी सिर्जनामा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।


दार्चुलामा मात्र अपिहिमाल (७,१३२ मिटर), नाम्पा हिमाल (६,७२९ मिटर), बोबाये चुली (६,८०८ मिटर), जेठी बहुरानी चुली (६,८५० मिटर), रोक कानी कापु चुली (६,४६८ मिटर), नाम्पा चुली (६,६११ मिटर), योको पहाड (६,४२३ मिटर), यार्भा (६,६४४ मिटर), जयचुङ (६,३८८ मिटर) र ल्याहासा (६,१८९ मिटर) लगायतका हिमालहरू रहेका छन् ।
यसअघि अपिहिमाल गाउँपालिका अध्यक्ष बोहराको पहलमा सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाल आरोहण शुल्कमा छुट दिने निर्णय गरेको थियो । गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले यी प्रदेशका ९७ वटा हिमाल आरोहणमा दुई वर्षका लागि पूर्णरूपमा सलामी शुल्क (रोयल्टी) छुट दिने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

ताजा समाचार